ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

झलनाथ खनाललाई प्रश्न- कसलाई रोज्नुहुन्छ, केपी ओली कि माधव नेपाल ?

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले समकालीन वाम राजनीतिका दुई शीर्ष पात्रहरू केपी शर्मा ओली र माधवकुमार नेपालमध्ये आफूले कसैलाई पनि नरोज्ने बताएका छन्।

विगतमा आफूलाई प्रधानमन्त्री बन्न नदिन दुवै नेताले पार्टीभित्रैबाट घेराबन्दी गरेको स्मरण गर्दै उनले अहिलेको अवस्थामा ती दुवैलाई रोज्नुपर्ने कुनै कारण नरहेको बताए।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै नेता खनालले यस्तो टिप्पणी गरेका हुन्।

विज्ञापन

संवादका क्रममा सम्पादक अधिकारीले खनाललाई सोधेका थिए, ‘विगतमा तपाईंलाई रोक्ने दुई पात्रमध्ये एकजना अहिले तपाईंकै पार्टीमा सँगै हुनुहुन्छ, अर्को अलग पार्टीमा हुनुहुन्छ। यी दुईमध्ये एकजनालाई रोज्नुपर्‍यो भने कसलाई रोज्नुहुन्छ ?’

जवाफमा नेता खनालले भने, ‘रोज्दिनँ मैले। नरोज्न पाइन्छ कि पाइन्न ? म दुइटैलाई रोज्दिनँ। किन रोज्नुपर्‍यो ? रोज्नुपर्ने कारण केही छ ? म दुइटैलाई रोज्दिनँ।’

प्रथम संविधानसभा निर्वाचनपछि पार्टी अध्यक्ष र संसदीय दलको नेता हुँदाहुँदै आफूलाई प्रधानमन्त्री बन्नबाट रोक्न ओली र नेपालले अस्वाभाविक सर्त तेर्स्याएको खनालले स्मरण गरे।

‘त्यतिबेला देशको संविधान, ऐन-कानुन र संसदीय परम्पराविपरीत ‘झलनाथ खनाल प्रधानमन्त्री बन्ने हो भने दुईतिहाइ बहुमत चाहिन्छ’ भनेर कमरेड केपी ओली र कमरेड माधव नेपालले अडान लिनुभयो,’ खनालले भने, ‘मलाई रोक्नुबाहेक त्यो सर्तको अरू कुनै उद्देश्य थिएन। आफ्नै पार्टीका अध्यक्षलाई रोकेर बाहिरबाट प्रधानमन्त्री बनाउने खेल उहाँहरूले नै खेल्नुभएको थियो।’

संविधानसभामा चुनाव हारेका माधव नेपाललाई आफूले उदारतापूर्वक प्रधानमन्त्री बनाए पनि पछि आफ्नै पालामा रोस्ट्रमबाटै उम्मेदवारी फिर्ता लिनेसम्मको प्रपञ्च रचिएको उनले बताए।

नेता खनालले ओली र नेपाल दुवै नेता नेपालको कम्युनिस्ट आन्दोलनभित्रका नकारात्मक प्रवृत्तिका अध्ययन सामग्री भएको टिप्पणी गरे।

‘म उहाँहरूलाई व्यक्तिगत रूपमा कुनै घृणाको दृष्टिकोणले हेर्दिनँ,’ खनालले व्यङ्ग्य गर्दै भने, ‘तर उहाँहरू यस्ता पात्र हुनुहुन्छ, जो देशका कम्युनिस्ट कार्यकर्ताहरूका लागि भने पढ्नयोग्य पात्र हुनुहुन्छ। ती घटनाक्रमले कुन नेताको कद, उचाइ र चरित्र कस्तो छ भन्ने कुरा नेपाली जनतालाई प्रस्ट पारेको छ।’

पार्टीभित्र विचार र नीतिको संघर्ष स्वाभाविक भए पनि पद र कुर्सीका लागि गरिने अस्वस्थ षड्यन्त्रले आन्दोलनलाई नै ध्वस्त बनाउने पाठ यी नेताहरूको व्यवहारबाट सिक्नुपर्ने खनालको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।