ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

जुम्लामा पहिलोपटक ‘कर्णाली प्रिमियर लिग’ सुरु

जुम्लामा समुद्री सतहदेखि करिब २ हजार ४ सय मिटर उचाइमा क्रिकेट प्रतियोगिता सुरु भएको छ। उच्च उचाइमा रहेको हाँकु क्रिकेट मैदानमा मंगलबारदेखि ‘कर्णाली प्रिमियर लिग (केपीएल)’ नाम दिइएको हाई अल्टिच्युड ओपन टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको हो।

खेलकुदसँगै जुम्लाको प्राकृतिक पहिचान र पर्यटनलाई जोडेर उच्च भूभागमा क्रिकेटको नयाँ गन्तव्य विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

युथ फर कर्णाली क्लबको आयोजनामा सुरु भएको पाँचदिने प्रतियोगितामा जुम्ला र कालीकोटका ११ टोली सहभागी छन्। प्रतियोगितामा जुम्ला घर भई विभिन्न ठाउँमा बस्दै आएका खेलाडीसमेत सहभागी छन्। स्थानीय खेलाडीलाई बाहिरबाट आएका तथा उच्चस्तरमा खेलिरहेका खेलाडीसँग प्रतिस्पर्धा गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।

विज्ञापन

युथ फर कर्णालीका अध्यक्ष मनोज भारतीले उच्च उचाइमा रहेको हाँकु मैदानलाई क्रिकेटको आकर्षक गन्तव्यका रूपमा विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए। “उच्च उचाइमा देशभरका खेलाडीलाई प्रतिस्पर्धा गराएर जुम्लालाई क्रिकेटको नयाँ गन्तव्यका रूपमा चिनाउन खोजिएको हो,” उनले भने, “खेलकुदसँगै जुम्लाको पहिचान र पर्यटन प्रवर्द्धनलाई पनि जोड दिएका छौँ।”

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। विजेता र उपविजेता टोलीका खेलाडीलाई पदक प्रदान गरिनेछ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि आयोजकले थप पुरस्कारको समेत व्यवस्था गरेको छ।

क्रिकेट खेलाडी महेश हमालले प्रतियोगिताले जुम्लाका स्थानीय खेलाडीका लागि क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर सिर्जना गरेको बताए। “यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर दिन्छ,” उनले भने, “यसबाट उनीहरूको क्षमता पहिचान गर्न र आगामी दिनमा अघि बढ्न सहयोग पुग्छ।”

उच्च भूभागमा क्रिकेट प्रतियोगिता आयोजना हुन थालेसँगै जुम्लाको खेल पर्यटनमा नयाँ सम्भावना थपिएको आयोजकको अपेक्षा छ। नियमित रूपमा यस्ता प्रतियोगिता सञ्चालन गर्न सके स्थानीय खेलाडी उत्पादनसँगै बाह्य खेलाडी र दर्शकलाई जुम्लासम्म आकर्षित गर्न सकिने र त्यसले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।