समाज

छाप्रोबाट घर पुगे विपन्न परिवार

वर्षौंसम्म कसैले सडक किनारमा टहरा बनाएर जीवन बिताए। कसैले सरकारी जग्गामा त कसैले अरूको जग्गाको छेउमा बसे। यसरी बस्नेको न आफ्नो व्यवस्थित घर थियो न त जग्गा नै थियो। तर गढी गाउँपालिका– २ का तीन र वडा नं ३ को एउटा बस्तीको अवस्था अहिले फेरिएको छ।

यी बस्तीमा पुग्ने जोकोहीको ध्यान एउटै स्वरूपमा बनेका घरले खिच्छन्। विपन्न सुकुम्बासी, अव्यवस्थित बसोबासी र दलित परिवारका लागि बनाइएका यी घरमा अहिले उनीहरू आफ्नै छानामुनि बस्न पाएका छन्। ‘वर्षौंदेखि सडकछेउमा बस्दै आएकोमा अहिले बुढेसकालमा आफ्नै घरमा बस्न पाउँदा आनन्द लागेको छ’, गढी गाउँपालिका– ३ की ६० वर्षीया असरीदेवी ऋषिदेवले भनिन्, ‘यसरी सुविधासम्पन्न आफ्नै घरमा बस्न पाइएला भनेर कल्पनासमेत गरेकी थिइन।’

उनलाई हेक्का भएअनुसार सडक छेउमै बसेको तीस वर्ष भएको थियो। सडकछेउमा बस्दा छेउछाउका साहु–माहजन काम लगाउने गर्थे, कहिलेकाहीँ बिरामी भएर सघाउन नसक्दा गाली खानुपर्थ्याे। ‘अब आफ्नो स्वतन्त्रता भएको छ’, उनले भनिन्, ‘नत्र त साहु–माहजनले भनेअनुसार नहुँदा जहिल्यै गाली मात्र खानुपर्थ्याे।’

विज्ञापन

असरीदेवीले नयाँ घर बनाएको जग्गा जीवन विकास संस्थामार्फत ऋण लिएर खरिद गरेकी हुन्। प्रतिकट्ठा चार लाख रुपैयाँका दरले जग्गा खरिद गरेको उनले बताइन्। ‘आधा पैसा आफैंले लगाएकी छु, आधा पैसा जीवन विकास संस्थाले ऋण दिएको छ’, उनले भनिन्, ‘दुई लाख ऋण लिएकोमा हरेक महिना पाँच हजार रुपैयाँ किस्ता बुझाउने गरेका छौं।’ उनका अनुसार पाँच वर्षसम्म किस्ता तिर्नुपर्ने नियम बनाइएको छ।

विशेषगरी मजदुरी गरेर जीवनयापन गर्दै आएकी ऋषिदेव र उराव समुदायका २१ वटा घर वडा नं ३ मा निर्माण भएका छन्। सोही बस्तीमा घर बनाएर बसेकी २७ वर्षीया रञ्जु उरावका अनुसार सडकछेउमा टहरा बनाएर बस्दा ट्वाइलेट नहुँदा सबैभन्दा गाह्रो हुने गर्थ्याे। चार वर्षअघि विवाह गरेकी उनले भनिन्, ‘अहिले त आफ्नै घरमा ट्वाइलेट र बाथरुम छ। घर पनि राम्रो छ।’

उनका अनुसार अहिले निर्माण गरेका घरमा बस्दा आनन्द आउँछ भने अर्कातिर सुरक्षित पनि महसुस हुन्छ। ‘पहिला त सामान्य बाँसको टाँटी लगाएर बनाएको घरमा गलत नियतले कोही व्यक्ति घरभित्र प्रवेश गरेर जे पनि गर्न सक्थ्यो’, उनले भनिन्, ‘अब त्यस्तो कुनै त्रास छैन।’

ऋषिदेव र उराव समुदाय खेतीको काम गर्छन्। अरूबेला घर निर्माणको काम गर्छन्। केही व्यक्ति भने उद्योगमा मजदुरको पनि काम गर्छन्। ‘हाम्रै बस्तीमा प्रायः ऋषिदेव र उरावको कमैको मात्र घरजग्गा थियो, अब त धेरैमा जसरी पनि घरजग्गा जोड्नुपर्छ भन्ने ज्ञान आउन थालेको छ’, उनले भनिन्।

ऋषिदेव र उराव समुदाय पहिला–पहिला दिनभर काम गरेर कमाएको पैसाले बिहान र बेलुका खानामै खर्च गर्थे। कतिपय मदिरा पिएर मनोरञ्जनमा भुलिन्थे। अब विस्तारै उनीहरूको विगतको गलत संस्कार परिवर्तन गरेर आफूलाई सभ्य र असल बनाउनेतर्फ लागेका छन्। ‘मेरै भत्ता आउँछ, जोगाएर राख्छु अनि घरमा छोरा र बुहारीले पनि अलगै कमाउँछ’, ७० वर्षीया जलरी उरावले भनिन्, ‘अब हामी कसरी हुन्छ पैसा बचत गरेर परिवार राम्रो बनाउने अभियानमा लागेका छौं।’

उनका अनुसार अब घर निर्माण गरेसँगै बालबालिका पनि पढ्न मन गर्न थालेका छन्। यहाँ घर बनाएर बस्ने परिवारका छोराछोरी नजिकै रहेको श्री माध्यमिक विद्यालय गढीमा पढ्ने गरेका छन्। यही बस्तीमा घर बनाएर बस्न थालेकी वडा नं ३ की वडा सदस्य इन्द्रा ऋषिदेवले सडकछेउछाउमा टहरा बनाएर बसोबास गर्नेलाई धेरै सम्झाएर जग्गा किनेर आफ्नै घर बनाएर बस्न लगाएको बताइन्। उनका अनुसार अहिले पनि १२ घर ऋषिदेव र उराव समुदायका सडकछेउकै ऐलानी जग्गामा बसोबास गर्दै आएका छन्।

‘उनीहरू हाम्रो केही पनि छैन, हामी सामान्य पैसा पनि लगानी गर्न सक्दैनौं भनेपछि नयाँ ठाउँमा राख्न नसकिएको हो’, उनले भनिन्। यो बस्तीमा बस्ने ऋषिदेव र उराव समुदायलाई गढी गाउँपालिका, संकल्प नेपाल र हेबिट्याट फर ह्युम्यानिटी नेपालबिच सहमति भएर घर निर्माण गरिदिएको हो।

वडा नं ३ मा यसरी घर निर्माण गर्दा सम्बन्धित व्यक्ति आफैंले जग्गा खरिद गर्नुपर्ने त्यसपछि संकल्प नेपाल र हेबिट्याट फर ह्युम्यानिटी नेपालले कुल पाँच लाख ८१ हजार खर्चेर घर निर्माण गरिदिएको हो।

भूकम्प प्रतिरोधी बाँस र सिमेन्ट प्रयोग गरेर सौचालयसहित दुई कोठाको घर निर्माण गरिदिएको हो। संकल्प नेपालका लखन साहका अनुसार यसरी निर्माण भएका घरमा लामखुट्टेबाट जोगाउन झ्यालमा तारजाली र गर्मीबाट बच्न सिलिङ पनि लगाइएको छ। यी सबै घर उपभोक्ता समितिमार्फत निर्माण भएका हुन्।

गढी गाउँपालिका– ३ का तीनवटा बस्तीमध्ये एउटा बस्तीमा संकल्प नेपाल र हेबिट्याट फर ह्युम्यानिटी संस्थाले २५ वटा घर निर्माण गरिदिएको छ। वडा नं २ मा अरू घर भने चुजी फाउन्डेसन र फरवार्ड वित्तीय संस्था मिलेर बनाइदिएका हुन्।

विपन्न परिवारको अनुहारमा मुस्कान ल्याउने उद्देश्यले गढी जंगलछेउमा बस्ने परिवारमध्ये २६ घर परिवार अहिले खेतको बिचमा जग्गा खरिद गरेर बसेका छन्।

यहाँ बसोबास गर्नेले भने जग्गा कारोबार गर्नेले महँगो मूल्यमा जग्गा बिक्री गरेर बस्ती बसाएको आरोप लगाएका छन्। सो बस्तीमा बस्ने अजयकुमार रामका अनुसार यहाँ बसोबास गर्नेले प्रतिकट्ठा ६ लाख रुपैयाँमा जग्गा खरिद गरेर बसेका हुन्। बस्ती बसेको एक वर्ष भइसकेको छ, तर स्थानीय बजार भाउअनुसार जग्गाको मूल्य अहिले पनि प्रतिकट्ठा पाँच लाख रुपैयाँ पर्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।