कुनै समय वीर अस्पतालको प्रयोगशाला र फार्मेसीमा थुप्रै औषधी प्रयोगविहीन बन्थे। उसैगरी प्रयोगशालामा रिएजेन्ट र किट चुहावट हुन्थे; जसको हिसाबकिताब र लेखाजोखा थिएन। पछिल्लो समय वीर अस्पतालले कडा निगरानी अपनाएको छ। फार्मेसीमा समयमै प्रयोग हुन नसकेका औषधी समयै सम्बन्धित कम्पनीलाई खबर गरी फिर्ता लैजानुपर्ने प्रक्रिया थालनी गरेको भने प्रयोगशालामा रिएजेन्ट तथा किटहरूको लेखाजोखा राख्न सुरु भएको छ।
वीर अस्पतालको फार्मेसी र प्रयोगशालामा चुहावट हुने गर्छ भन्ने सुनेपछि यी दुई क्षेत्रमा निगरानी बढाएको वीर अस्पतालका निर्देशक विकास नेपालले बताए। उनले भने, ‘फार्मेसीमा भएको औषधी बिरामीलाई बिक्री नगरेर बाहिर फार्मेसीमा किन्न जान बाध्य भएको कुरा सुनेपछि निगरानी बढाएका हौं।’
यो विषयमा वीरको पूर्व व्यवस्थापन कर्मचारी भने चुहावट हुने गरेको भए पनि पछिल्लो समय हुने डिजिटल प्रणालीका कारण चुहावटको सम्भावना कम भएको बताउँछन्। ‘पहिला यी शाखामा चुहावट भएको तथ्य फेला परेपछि तत्कालै कारबाही भएको थियो, अब चुहावटको सम्भावना कम छ’, वीरका एक कर्मचारीले भने। किनेर लिएको औषधी र रिएजेन्ट प्रयोग भएको जति दाखिला नहुने स्थिति थियो।

यी दुवै ठाउँमा हुने चुहावटलाई उपयोग गर्न सकेमा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन सकिने उद्देश्यले लेखाजोखा र अनुगमन गर्न थालिएको अस्पतालका निर्देशक डा. विकास नेपालले जानकारी दिए।
उनी भन्छन्, ‘खरिद गरिएका रिएजेन्ट, प्रयोग भएका र बाँकी रहेका रिएजेन्टको लेखाजोखा राखिन्छ, जसले चुहावट हुन दिँदैन’, उनले भने।
त्यसैगरी खरिद भएका औषधीमध्येमा कतिपय औषधी बिक्री नभईकनै प्रयोग मिति सकिन्थे, जुन औषधीहरू बहुमूल्यका हुन्थे। प्रयोग अवधि नै प्रयोग मिति सकिने सम्भावना भएमा सम्बन्धित कम्पनीलाई तीन महिनाअघि नै पत्राचार गर्नुपर्ने व्यवस्था गरेको निर्देशक नेपालले बताए।
अस्पताल व्यवस्थापनका क्रममा पुराना नयाँ खरिद गर्नुको सट्टा पुराना उपकरण मर्मत गर्ने प्रक्रिया अघि बढेको अस्पतालले जनाएको छ। आगामी दिनमा अक्सिजन मनिटर ५० वटा मर्मत गर्ने, इन्डोस्कोपिक मेसिन आठवटा मर्मत गर्ने, अल्ट्रासाउन्ड मेसिन ४ वटा, एनेस्थेसिया मेसिन लगायत मर्मत गरी चलाउने निर्णय भई प्रक्रिया अघि बढेको अस्पतालका निर्देशक डा. नेपालले बताए।
त्यसैगरी १० वटा हेमोडाइलोसिस मेसिन थप गरिएको छ। यसका साथै नयाँ भवनअगाडिको खाली भागमा बिरामीलाई लाइन बस्न सहज होस् भनी पारदर्शी छाना राख्ने निर्णय भएको उनले जानकारी दिए।
निर्देशक नेपालका अनुसार फार्मेसी सेवालाई थप सहज पार्ने, निजी क्याबिन, आइसियु र सर्जरी वार्डका लागि वार्डका बिरामीका लागि वार्डमै आवश्यक औषधी मगाउने र बिरामी पक्षले क्युआर कोडमार्फत बिल तिर्ने प्रणाली सुरु हुँदै छ। नगदवापत यो प्रणालीले नगद काउन्टरमा भीड कम हुने अपेक्षा लिएको डा. नेपालले बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।