माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ। नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो।
नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ। स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु बिक्रीवितरणको सूनिश्चितता गर्नु पर्ने नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले बताए। उनले बजारमा मासुको गुणस्तर र सरसफाइ कायम राख्न संयुक्त अनुगमन टोली गठनगरी काम गर्ने बताए।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेले मासु जाँच ऐन कार्यान्वयनमा ल्याएसँगै स्वच्छ र स्वस्थ मासु मात्रै बिक्री गर्न पाइने बताए। छालाविहीन मासु बिक्री गर्नुपर्ने र बिरामी मरेका पशुको बध गरेर बिक्री गर्न नपाइने उनले जानकारी दिए। उनले भने, ‘यसका लागि पशु बधस्थल र मासु बिक्री कक्ष फरक हुनुपर्ने र कोलचेन (मासु राखिएको ठाउँको तापक्रम)मा ध्यान दिनुपर्छ।’

जिल्लाका अन्य पालिकामा पनि मासु जाँच ऐन २०५५ कार्यान्वयनमा ल्याउने गरी काम अघि बढाउन दबाब परेको छ। अहिले जिल्लामा बधस्थल अस्तव्यस्त रुपमा छन्। रासस


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।