नेपाली अर्थोडक्स चियालाई विश्व बजारमा चिनाउने प्रयासस्वरूप पर्यटकीय कन्याम चिया बारीमा प्रथम सूर्योदय चिया महोत्सव सम्पन्न भएको छ। ‘चियाको राजधानी’का रूपमा चर्चित कन्यामस्थित चिया परीक्षण तथा प्रवर्धन केन्द्र परिसरमा २ दिने महोत्सव सञ्चालन गरिएको थियो।
महोत्सवमा सूर्योदय नगरपालिकामा सञ्चालित अर्थोडक्स चिया उद्योगबाट उत्पादित विभिन्न गुणस्तरका चियाको स्वाद सहभागीलाई चखाइएको छ। स्थानीय दूध, कृषिउपज र हस्तकलाका स्टलसमेत राखिएका थिए। विभिन्न ठाउँबाट पर्यटक र चिया पारखी महोत्सवमा सहभागी भएको आयोजक सूर्योदय नगरपालिकाले जनाएको छ।
त्यसै अवसरमा कन्यामबाट विभिन्न मनोरम दृश्यावलोकन गर्दै अन्तुडाँडासम्म पुग्न सकिने ‘चियाबारी पदमार्ग’मा दौड प्रतियोगितासमेत आयोजना गरिएको थियो। पुरुषतर्फको साढे १२ किमी दौड प्रतियोगितामा ओखलढुंगाका प्रिथी राई पहिलो भए। इलामका राजेन्द्र लिम्बू दोस्रो र पाँचथरका ग्याल्जेन गुरुङ तेस्रो भए। उनीहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाए। महिलातर्फको दौडमा सूर्योदय नगरका तेजकुमारी मुखिया पहिलो, सोनिका थापामगर दोस्रो र सरला राई तेस्रो भए। उनीहरूले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे।

महोत्सवको उद्घाटन कोशी प्रदेशकी पर्यटन, वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बूले गरिन्। चिया, दूध र अन्य कृषि उत्पादनको गुणस्तर प्रचारप्रसार गर्दै पर्यटकलाई चिया बारीभित्र पनि पैदल हिँड्ने पदमार्गबारे जानकारी दिनु महोत्सवको मुख्य उद्देश्य रहेको कार्यवाहक मेयर दुर्गाकुमार बरालले बताए। अन्तु, कन्याम, फिक्कलमात्र होइन, गाउँ–गाउँका आकर्षक पर्यटकीय क्षेत्रको प्रचारमा सहयोग पुगेको उनले बताए। साढे २५ किलोमिटरको चियाबारी पदमार्ग निर्माणको काम चालु वर्ष सम्पन्न हुने क्रममा छ।
महोत्सवको पहिलो दिन सांस्कृतिक झाँकी प्रदर्शन गरियो। चियाको स्वाद परीक्षण, रैथाने खानाका परिकार अवलोकन, विभिन्न ब्रान्डका चियाको सोकेसिङ, सूर्योदयका पर्यटकीय क्षेत्रको जानकारीमूलक स्टल अवलोकन र चियाबारी पदमार्ग महोत्सवका मुख्य आकर्षण थिए।
चियाबारी पदमार्ग हाइकिङ, ‘जलवायु परिवर्तनको सामना: दिगो चिया खेती र चिया कृषकको जगेर्ना’ विषयमा सरोकारवालाबिच संवाद भएको छ। इलाम जिल्लामा झापा र भारततिरबाट पर्यटक भित्रिने मुख्य सडक नै सूर्योदय नगरपालिकामा पर्छ। महोत्सवले सूर्योदयलाई मात्र नभई सिंगो जिल्लाकै पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको आयोजक सूर्योदय नगरले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।