नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकांक्षाका कारण पार्टी विभाजित भएको आरोप लगाएका छन्।
सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले थापाले विदेशीको इशारामा पार्टीलाई छिन्नभिन्न बनाएको दाबी गरे।
कांग्रेसको इतिहास, संगठन र निर्वाचनमा पार्टीले हासिल गरेको उपलब्धिलाई बेवास्ता गर्न नहुने बताउँदै उनले अहिलेको असर आगामी निर्वाचनमा पर्ने बताए।

उनले स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै अहिलेको विभाजनले आगामी संघीय र प्रदेश निर्वाचनमा कांग्रेसलाई एक्लै प्रतिस्पर्धा गर्न कठिन हुने बताए।
उनले भने, ‘गगन जीको महत्त्वाकांक्षाले विदेशीहरूको इसारामा पार्टी दुइटा नबनाइदिएको भए, अब आउने निर्वाचनमा सङ्घीय, प्रदेश चुनाव एक्लै लड्दा पनि जित्ने अवस्था थियो। तर अहिले त्यो स्थिति छैन।’
बस्नेतले पार्टीमा युवा नेताहरूको भूमिका महत्त्वपूर्ण भए पनि नेतृत्वमा पुग्नका लागि संगठन निर्माण, जनतामाझको प्रभाव र निर्वाचनमा हासिल गरेको सफलतालाई आधार बनाउनुपर्ने बताए।
उनले पार्टीमा लामो समयदेखि योगदान दिएका नेताहरूलाई बेवास्ता गरेर नेतृत्वमा पुग्न खोज्नु उचित नहुने बताए।
बस्नेतले पार्टीको नेतृत्व परिवर्तन स्वाभाविक प्रक्रिया भए पनि त्यसका लागि पार्टीलाई कमजोर बनाउने गतिविधि गर्न नहुने बताए।
नेतृत्व परिवर्तनको बहस चलिरहँदा पार्टीभित्रको विवाद र गुटबन्दीले संगठनलाई थप कमजोर बनाउन सक्ने उनको भनाइ थियो।
उनले विशेष महाधिवेशन र त्यससँग जोडिएका गतिविधिबारे पनि प्रश्न उठाउँदै पार्टीभित्रको वर्तमान परिस्थितिले नेता तथा कार्यकर्तामा अन्योल सिर्जना गरेको बताए।
बस्नेतले कांग्रेसको आगामी राजनीतिक दिशा र नेतृत्वको विषयमा निर्णय गर्दा पार्टीको इतिहास, संगठनको अवस्था र निर्वाचनमा जित्ने क्षमतालाई प्राथमिकता दिनुपर्ने धारणा राखे।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।