ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

खाद्य संकट र मूल्यवृद्धिको असर कम गर्न यस्तो छ सरकारको तयारी

अन्तर्राष्ट्रिय स्तरमा देखिन सक्ने खाद्य संकट, इन्धनको मूल्यवृद्धि र बजारमा आउन सक्ने सम्भावित समस्याको असर कम गर्न सरकारले पूर्वतयारी गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

शुक्रबार आयोजित साप्ताहिक प्रेस ब्रिफिङमा विश्वव्यापी द्वन्द्व, मलको अभाव र ‘सुपर एल निन्यो’ का कारण खाद्य संकट निम्तिन सक्ने चेतावनी तथा त्यसको नेपालमा पर्न सक्ने असरबारे नागरिकन्युजले प्रश्न गरेको थियो। जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले सम्भावित संकटको असर न्यूनीकरण गर्न सरकारले तयारी गरिरहेको बताएका हुन्।

उनका अनुसार अन्तर्राष्ट्रिय कारणबाट उत्पन्न हुने समस्या देशभित्रको प्रयासले मात्रै पूर्ण रूपमा रोक्न नसकिने भए पनि त्यसको असर न्यूनीकरण गर्न सरकार सक्रिय छ। उनले सम्भावित संकटको सामना गर्न सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक विवरण संकलन गर्न र योजना तयार पार्न भनिसकिएको जानकारी दिए। सोहीअनुसार मन्त्रालयहरूले आ-आफ्नो क्षेत्रबाट आवश्यक तयारी गरिरहेको उनको भनाइ थियो।

विज्ञापन

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिजस्ता विषयले विश्वभर प्रभाव पार्ने भएकाले नेपालले मात्रै त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न कठिन हुने उनले बताए। यद्यपि, त्यस्ता समस्याबाट देशका अन्य क्षेत्रमा पर्न सक्ने असर कम गर्न सरकारको ध्यान केन्द्रित रहेको उनको भनाइ छ।

‘अन्तर्राष्ट्रिय रूपमा प्रभाव पार्ने विषयलाई हामीले मात्रै प्रयास गरेर नियन्त्रण गर्न सक्दैनौँ। तर त्यसबाट अन्य क्षेत्रमा असर नपरोस् र सम्भावित जोखिम कम गर्न सकियोस् भन्नेमा सरकारको ध्यान केन्द्रित छ,’ अर्यालले भने।

यसैबिच, चाडपर्व र विपद्पछिको अवस्थालाई ध्यानमा राख्दै सरकारले अत्यावश्यक खाद्यवस्तु, खाना पकाउने ग्यास, इन्धन, औषधि तथा दैनिक उपभोग्य वस्तुको नियमित र सहज आपूर्ति सुनिश्चित गर्ने निर्णय गरेको छ।

सरकारले कृत्रिम अभाव, कालोबजारी, जम्माखोरी र अस्वाभाविक मूल्यवृद्धि रोक्न नियमित तथा आकस्मिक बजार अनुगमनलाई तीव्र बनाउने जनाएको छ। वस्तु तथा सेवाको मूल्य, तौल, गुणस्तर र म्यादसम्बन्धी नियम पालना गराउन तथा उपभोक्ता ठगी गर्नेहरूलाई कारबाही गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।