ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

कामदारको माग उच्च, छनोट सीमित

इटहरी– २० का दिलिप कार्की १० वर्ष मलेसिया बसेर स्वदेश फर्किए। अहिले उनी रोजगारीको खोजीमा छन्। विदेशमा रहँदा मेसिन सञ्चालनको आधारभूत सिप सिकेका उनले अहिले त्यही सिपलाई स्वदेशमै उपयोग गरेर रोजगारी गर्ने प्रयास थालेका हुन्।

इटहरीमा चलिरहेको सिप तथा रोजगार मेलामा सोमबार दिउँसो पुगेका कार्कीले पूर्वकै प्रतिष्ठित उद्योग रिलायन्स स्पिनिङ मिल्समा मेसिन अपरेटर पदका लागि आवेदन दिएका छन्। कम्पनीले उनको अन्तर्वार्तासमेत लिएको छ, तर उनलाई रोजगारी दिने वा नदिने टुंगो लागिसकेको छैन।

कार्की अब श्रीमती, १८ वर्षीया छोरी र १० वर्षीय छोरासँगै बसेर नेपालमै काम गर्न चाहन्छन्। ‘परिवारसँगै बसेर आफ्नै देशमा केही गर्ने सोच छ’, ५० वर्ष पूरा गरेका उनले भने, ‘विदेशमा कति बस्नुजस्तो लागेर यहीं जागिर खोजिरहेको छु, अहिलेसम्म भेटिएको छैन।’

विज्ञापन

नेपालमै रोजगारीको अवसर पाए पुनः विदेश नजाने उनको योजना छ, तर स्वदेशमा काम नपाए भने फेरि विदेश जानुपर्ने बाध्यता आउन सक्ने उनी बताउँछन्। दिलिपजस्तै १५ वर्ष मलेसिया बसेका सप्तरी बोधेबरसाइन– १० का ५० वर्षीय बिरिजलाल सेठ पनि रिलायन्ससँगै अन्य कम्पनीमा जागिर खोज्न रोजगार मेला पुगे। उमेर पाको भएकाले अन्तर्वार्तापछि उनलाई रिलायन्स उद्योगले मेसिन चलाउन नराख्ने टुंगो गर्‍यो। ‘रिलायन्सले त उमेर बढी भएकाले नराख्ने निर्णय गरिसक्यो, अन्यत्र पनि काम खोजी गरेको छु’, उनले नागरिकसँग सोमबार साँझ भने, ‘सामान्यभन्दा सामान्य काम पाउँदा पनि नेपालमै केही गर्ने योजना छ।’

सामान्य साक्षरबाहेक पढेलेखेका युवापुस्तासमेत सिप तथा रोजगार मेलामा जागिर खोजी गर्न जानेको बाक्लो चाप रहेको छ। यही क्रममा सुनसरी बराहक्षेत्र -४ की २६ वर्षीया सुजाता लुइँटेलले एक वर्षअघि जनता बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातक तह पूरा गरिन्।

पढाइ पूरा गरेपछि उनको लक्ष्य थियो आफूलाई अनुकूल हुने राम्रो संस्थामा लेखापालका रूपमा काम गर्ने। त्यसका लागि उनले विभिन्न संस्थामा आवेदन दिँदै दुईतीन ठाउँमा अन्तर्वार्तासमेत दिइसकेकी छन्, तर अहिलेसम्म अनुकूल रोजगारी पाउन सकेकी छैनन्।

रोजगारीको खोजीमा रहेकी सुजाता इटहरीमा चलिरहेको सिप तथा रोजगार मेलामा पनि पुगेकी छन्। आफूले अध्ययन गरेको विषयअनुसार लेखापालको काम पाउने आशासहित उनले विभिन्न संस्थामा आवेदन दिएकी हुन्। ‘पढेको विषयअनुसार राम्रो संस्थामा लेखापालको काम गर्ने इच्छा छ’, उनले भनिन्, ‘त्यसैले आफूलाई अनुकूल हुने अवसरको खोजीमा विभिन्न संस्थामा आवेदन दिँदै आएकी छु।’

उनका लागि रोजगार मेला रोजगारी खोज्ने अर्को अवसर बनेको छ। मेलाबाट आफूले चाहेको काम पाउने उनको अपेक्षा छ। सुनसरीकै देवानगन्ज गाउँपालिका -४ का २५ वर्षीय प्रमोदकुमार पण्डित पनि दुई वर्षदेखि झापाको एउटा प्लाइउड कारखानामा काम गर्दै आएका छन्, तर कारखानामा नियमित काम नहुने र पारिश्रमिक पनि कम भएकाले उनी राम्रो रोजगारीको खोजीमा छन्।

रोजगार मेलामा उनी आफूलाई राम्रो संस्थामा रोजगारी मिल्ने आशासहित पुगेका हुन्। नियमित काम र राम्रो पारिश्रमिक पाउने अवसर पाए आफू जुनसुकै ठाउँमा काम गर्न तयार रहेको उनले बताए। ‘अहिलेसम्म अविवाहित छु, अब विवाह गर्ने बेला पनि भयो’, उनले भने, ‘अहिलेको कामबाट आम्दानी थोरै हुन्छ। अलिक राम्रै पैसा हुने काम पाए जुनसुकै ठाउँमा काम गर्न तयार छु।’

हालको कामबाट प्राप्त हुने आम्दानीले भविष्यको योजना बनाउन कठिन भइरहेकाले उनी रोजगारीको नयाँ अवसर खोजिरहेका छन्। नेपालमै राम्रो रोजगारी र पारिश्रमिक पाउन नसके भने विदेश जाने सोचमा रहेको उनले बताए।

पूर्वका सुनसरी र मोरङका नाम चलेका १९ वटा प्रतिष्ठित संस्थाले मेलामार्फत रोजगारी दिन यतिबेला इच्छुक कामदारलाई अन्तर्वार्ता लिएर छान्ने प्रक्रिया चलिरहेको छ। यसमा दुहबीको सोनापुरमा सञ्चालित अरिहन्त मल्टिफाइबर्सले उद्योगले पाँच सय जना कामदारको माग गरेको छ; जसमा अहिलेसम्म अन्तरर्वार्ताबाट ४० जना छनोट भएकोमा १० जना मात्र सम्पर्कमा आएको उद्योगका प्रशासन प्रमुख तीर्थराज बजगाईंले बताए।

उनका अनुसार खासगरी उद्योगले दक्ष कमदार खोजे पनि नभेटेपछि अदक्ष कामदारलाई सिप सिकाई काममा लगाउने योजना राखेको छ। यस उद्योगले सुनसरी र मोरङका ग्रामीण क्षेत्रबाट कामदारलाई गाडीमा ओसार्नेसमेत गर्दै आएको छ। अहिले यस उद्योगमा नियमित चार हजार कामदार कार्यरत छन्। कामदारमध्ये सबैभन्दा बढी महिला छन्।

पूर्वको औद्योगिक कोरिडोर सुनसरी–मोरङका उद्योगहरू पछिल्लो एक दशकयता मजदुर अभाव झेल्दैछन्। पुरुष कामदार नपाएपछि उद्योगहरूले महिलाबाट काम लिन थालेका छन्। उद्योगले पुरुषहरू बिदेसिने गरेकाले पनि महिला कामदार राख्ने गरेको छ।

पूर्वकै प्रतिष्ठित उद्योग रिलायन्समा समेत यतिबेला सात सय हाराहारी कामदारको अभाव छ। रिलायन्सकै लागि रोजगार मेलामार्फत सीमित कामदार मात्र छनोट भएको प्रमुख प्रशासकीय अधिकृत महेश पोखरेलले बताए। ‘अहिलेसम्म २५० जनाको अन्तरर्वार्ता लिई सकिए पनि केही सीमित मात्र काम गर्न योग्य व्यक्ति छनोट भएका छन’, उनले भने।

उनका अनुसार उद्योगमा यतिबेला चार हजार हाराहारी कामदार छन्। खासगरी बलका काम र मेसिनमा काम गर्ने प्राविधिक कामदारका लागि पुरुष आवश्यक पर्छ, तर ती काम गर्न योग्य पुरुषको अभाव हुँदै आएको छ।

मजदुर अभाव टार्नका लागि इटहरी -८ मै सञ्चालित सगरमाथा ग्रामेन्ट उद्योगले ५० जना कामदार माग गरेकोमा अहिलेसम्म १२ जना मात्र छनोट भएको उद्योग सञ्चालक डम्बर तामाङले बताए। ‘अहिले हाम्रो उद्योगमा ८५ जना कामदार कार्यरत छन्, अरू ५० जना आवश्यक परे पनि १२ जना मात्र छनोट भए। अरू पनि योग्य व्यक्ति भेटिने आशा छ।’

तामाङका अनुसार अर्को कम्पनी सुदर्शन सेक्युरिटीका लागि पनि १५० जना गार्ड माग भएकोमा अहिलेसम्म कोटा पूरा नभएको उनले बताए। ‘योग्य युवा कामदार नै भेटाउन गाह्रो भइरहेको छ’, उनले भने। सुदर्शन सेक्युरिटीमार्फत अहिले एक हजार ९ सय गार्ड विभिन्न कम्पनीमा कार्यरत छन्।

मोरङकै बुढीगंगामा रहेको श्री प्लाई उद्योगमा १२९ जना कामदार माग भएकोमा ६० जनाले अन्तरर्वार्ता दिएका छन्, तर अन्तिम छनोट सकिएको छैन। प्लाई उद्योगका लागि प्राविधिक कामदार खोजी गरे पनि त्यस्ता व्यक्ति नभेटिएपछि सामान्य उद्योगमा काम गरेकालाई छानिएको उद्योगी प्रमोद रेग्मीले बताए।

उनका अनुसार प्लाई उद्योगमा कामदार लामो समय नटिक्ने हुँदा जहिल्यै मजदुरको अभाव हुने गरेको छ। ‘नियमित काम नचल्ने हुँदा प्लाई उद्योगमा कामदार छिटोछिटो परिवर्तन हुन्छन्। अर्कातिर प्राविधिक कामदारको माग बढी हुँदा जहाँ बढी पैसा पाउँछन्, त्यहीं जाने गर्छन्’, उनले भने, ‘जसले गर्दा जहिल्यै कामदारको अभाव झेल्नुपरेको छ।’

इटहरीमा चलिरहेको सिप तथा रोजगार मेलामा इटहरीको सुनगाभा फिड्स, दिव्यान्स ढाका, विशाल मैदा, पूर्वाञ्चल गोरखा सेक्युरिटी, हुलास वायर, तिरुपति उड्स, होटल तथा पर्यटन व्यवसायी, सुदर्शन सेक्युरिटी, पल्स फेसन र रियालन्स मिल्सद्वारा कामदार माग गरी इच्छुक कामदारको छनोट चलिरहेको छ।

यस्तै, विराटनगरको नेपाल एपरियल्स, बुढीगंगाको एसियन ब्याट्री, दुगड स्पाइसिस, श्री प्लाईसँगै दुहबीका अरिहन्त, मैनावली स्टिल्स र क्वालिटी फुड्स उद्योगले पनि कामदार अभावले रोजगार मेलामार्फत इच्छुक कामदार छनोट गरिरहेको छ।

मेलामार्फत जानकी पोली क्याम कटारी र बाबा जुट मिल्स कटहरीले पनि कामदार माग गरेको छ। सुनसरी र मोरङका उद्योगले दुई हजारभन्दा बढी कामदारको माग गरेकोमा अहिलेसम्म तीन सय हाराहारी मात्र योग्य कामदार भेटिएको जानकारी दिइयो।

यही असोज १४ देखि सुरु भएको रोजगार मेला औपचारिक रूपमा असोज २० मा सकिँदै छ तर थुप्रै रोजगारदाता कम्पनीले कामदार माग गरेको र युवा पुस्ता जागिरको खोजीमा आएकाले श्रम कार्यालयमार्फत रोजगारदाता कम्पनीलाई इच्छुक व्यक्ति छनोट गर्ने वातावरण मिलाइने संघीय सांसद लालविक्रम थापाले बताए।

उनका अनुसार उद्योगी व्यवसायी र कामदारबिच समन्वय गरेर ‘जब म्याचिङ’ गर्ने मुख्य उद्देश्य रहेकाले औपचारिक कार्यक्रम सकिए पनि श्रम कार्यालयमार्फत कामदार लिने प्रक्रिया भने अरू केही दिन चल्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।