ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस १५औं महाधिवेशन : १५ काम नगर्ने संकल्प

नेपाली कांग्रेसले निर्वाचनअघि चुनावी गठबन्धन र तालमेल नगर्ने भएको छ। पार्टीको आइतबारदेखि काठमाडौंमा सुरु १५औं महाधिवेशनको दोस्रो दिन सोमबार बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनमा लेखिएको छ, ‘निर्वाचनमा आफ्नै पार्टीको चिह्न, कार्यक्रम, उम्मेदवारसहित प्रतिस्पर्धा गर्दै जित्न योग्य हुने छौं।’

विगतमा चुनावअघि गरिएका अस्वाभाविक गठबन्धनले पार्टीको मौलिक पहिचान मात्र गुमाएको नभई कार्यकर्ताको मनोबल र लोकतान्त्रिक प्रतिस्पर्धाको मर्ममाथि समेत प्रहार गरेको प्रतिवेदनमा उल्लेख छ।

निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया पूर्ण लोकतान्त्रिक बनाउन पहुँच र गुटको एकाधिकार अन्त्य गरी योग्यता, निष्ठा, योगदान र कार्यसम्पादनलाई मुख्य आधार बनाइने दाबी प्रतिवेदनमा गरिएको छ। सदस्यहरूको प्रत्यक्ष मतबाट उम्मेदवार छनोट गर्न ‘प्राइमरी निर्वाचन’ विधि अवलम्बन गरिने छ।

विज्ञापन

पार्टीलाई परम्परागत सत्ताकेन्द्रित राजनीतिक शैलीबाट बाहिर निकालेर पूर्णतः नयाँ ढाँचामा रूपान्तरण गर्ने विस्तृत प्रस्ताव पनि प्रतिवेदनमार्फत अघि सारिएको छ। लामो समयदेखि पार्टीभित्र मौलाएको गुटबन्दी, अपारदर्शी भागबन्डा र सत्ताउन्मुख प्रवृत्तिका कारण कांग्रेस र आमनागरिकबिचको दुरी चिन्ताजनक रूपमा बढेको निष्कर्ष प्रतिवेदनको छ।

प्रतिवेदनले राज्य सञ्चालन प्रणालीमा पनि सुधार ल्याउन कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री पदका लागि अधिकतम दुई कार्यकालको सीमा निर्धारण गर्न संवैधानिक पहल गर्नुपर्नेमा जोड दिएको छ। कार्यकालको सीमा निर्धारणले नेतृत्वमा नयाँ पुस्ताको निरन्तर आगमन सुनिश्चित गर्ने र सत्तामा लामो समय टिकिरहने प्रवृत्तिको अन्त्य गर्ने विश्वास लिइएको छ।

संसदीय राजनीतिमा पार्टीको भूमिका अहम् हुने भएकाले संसद्‌भित्र कांग्रेसलाई खरो र जिम्मेवार प्रतिपक्षका रूपमा उभ्याउनुपर्ने आवश्यकता प्रतिवेदनमा औंल्याइएको छ। सरकारका गलत कामकारबाही, भ्रष्टाचार, शक्ति दुरुपयोग र नागरिक अधिकार हननका घटनामा तथ्य-प्रमाणसहित सदन र सडकबाट सशक्त निगरानी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। संसदीय अभ्यासलाई रचनात्मक बनाउन केन्द्र र प्रदेश तहमा मन्त्रालयगत कामको निगरानी गर्ने गरी ‘छाया सरकार’ गठनलाई निरन्तरता दिने प्रतिवेदनमा भनिएको छ।

छाया सरकारले सत्ताको अन्धविरोध मात्र नगरी प्रत्येक मन्त्रालयका कमजोरी केलाउँदै वैकल्पिक नीति, सुधारका उपाय र स्पष्ट राष्ट्रिय दृष्टिकोण जनतामाझ सार्वजनिक गर्ने भनिएको छ। सुशासनलाई प्रविधिमैत्री बनाउन सरकारी आयोजनाहरूको प्रगति, बजेट विनियोजन, वास्तविक खर्च र जिम्मेवार आयोजना प्रमुखहरूको सम्पूर्ण विवरण सर्वसाधारणले प्रत्यक्ष हेर्न सक्ने गरी ‘ओपन-सोर्स नागरिक ड्यासबोर्ड’ निर्माण गर्ने परिकल्पना कांग्रेसले गरेको छ। प्रतिवेदनमा जेनजी पुस्ताको असन्तोष, आकांक्षा र अपेक्षा अध्ययन गर्न स्वतन्त्र युवा विज्ञहरू सम्मिलित उच्चस्तरीय कार्यदल गठन गर्ने प्रस्ताव गरिएको छ।

यसैगरी कांग्रेसले मुलुकमा क्षय हुँदै गएको राजनीतिक संस्कृतिलाई पुन:जागृत गर्न शैलीदेखि निर्वाचन प्रणालीसम्म सुधार गर्ने प्रतिबद्धता गरेको छ। महाधिवेशनको बन्दसत्रमा उपसभापति विश्वप्रकाश शर्माद्वारा पेस गरिएको राजनीतिक प्रतिवेदनमा कांग्रेसले ज्येष्ठ मात्र नभई श्रेष्ठ राजनीतिक शक्ति प्रमाणित गर्नुपर्नेमा जोड दिइएको छ।

पार्टीका कुनै सदस्य वा नेता कानुन उल्लंघनको आरोपमा जोडिए त्यसको सामना सम्बन्धित व्यक्तिले नै गर्नुपर्ने उनको प्रतिवेदनमा उल्लेख छ। आरोपकै आधारमा निर्दोषलाई फसाउन नहुने र राज्यको दबाब वा प्रभावमा दोषी उम्कन नहुने तर्कअघि सार्दै उपसभापति शर्माको प्रतिवेदनमा निर्वाचन हुँदैमा लोकतन्त्र बलियो हुन नसक्ने भनिएको छ। प्रतिवेदनमा लोकतन्त्रमा लोकतान्त्रिक संस्कार, संस्थाको मर्यादा, स्वतन्त्र न्यायपालिका, संसद् र प्रेसको स्वतन्त्रता महत्त्वपूर्ण हुने भनिएको छ। प्रतिवेदनमा लेखिएको छ, ‘लोकतान्त्रिक संस्कृतिबेगरको लोकतन्त्र निरस प्रक्रिया मात्र बन्ने छ।’

प्रतिवेदनमा नागरिकलाई लोकतन्त्रको केन्द्रमा राख्दै ‘मान्छेको मूल्य’लाई निर्वाचनमा प्राप्त मतभन्दा पनि महत्त्वपूर्ण मानिएको छ। २०७२ सालपछि नयाँ पुस्तामा राजनीतिक असन्तुष्टि बढ्दै गएको र सरकार परिवर्तनको निरन्तर चक्रले ३५ वर्षमा केही भएन भन्ने भाष्यलाई बल दिएको प्रतिवेदनमा स्वीकार गरिएको छ।

कांग्रेसले पार्टीका नेता-कार्यकर्ताले गर्न हुने र नहुने भन्दै १५/१५ वटा संकल्प अघि सारेको छ। कांग्रेसले व्यक्तिको विचारलाई केन्द्रमा राख्ने तर विचारको केन्द्रमा व्यक्तिलाई राखेर व्यक्तिकेन्द्रित राजनीति नगर्ने, फरक विचारलाई स्वीकार गर्ने तर त्यसलाई स्थायी गुटमा रूपान्तरण नगर्ने, कुनै पदलाई व्यक्तिको प्रभावका आधारमा ‘गोत्र’ जस्तै स्थायी बनाउने प्रवृत्ति अस्वीकार गर्ने, अवसरअनुसार विचार र सिद्धान्त परिवर्तन नगर्ने, पहुँच र प्रभावका आधारमा उम्मेदवारीलाई प्राथमिकता नदिने भनेको छ।

त्यस्तै पार्टी नेतृत्व, सदस्य र समितिको अपारदर्शिता स्वीकार नगर्ने, जनादेशलाई अहंकारमा नबदल्ने, चुनावी घोषणापत्रलाई ‘ऋण लिएर बिर्सिने तमसुक’ मा सीमित नगर्ने, कानुनी प्रक्रियामा राजनीतिक संरक्षणको विसंगति स्वीकार नगर्ने, सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने प्रतिबद्धता गरिएको छ।

सामाजिक सञ्जाललाई आन्तरिक विवादको अखडा नबनाउने, युवाको कलिलो उमेरका कारण उनीहरूका परिपक्व अजेन्डालाई नजरअन्दाज नगर्ने, समावेशितालाई केवल संख्यामा सीमित नगर्ने, अवसरमा एउटै अनुहार दोहोर्‍याउने प्रवृत्ति अन्त्य गर्ने कांग्रेसले भनेको छ। योगदानलाई सम्मान गर्ने तर त्यसलाई योग्यताको एकमात्र आधार नबनाउने र अल्पकालीन स्वार्थलाई संस्था, विचार र लोकतान्त्रिक मूल्यभन्दा माथि नराख्ने प्रतिबद्धता कांग्रेसले गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।