मधेस प्रदेशका चिनी उद्योगले कम उत्पादन र कम चिनी प्रतिलाभ हुने जातको उखु यसपालि खरिद नगर्ने निर्णय गरेका छन्।
मधेस प्रदेशका विभिन्न जिल्लामा सञ्चालित चिनी उद्योगहरूले संयुक्त रूपमा सूचना जारी गर्दै किसानलाई उत्पादनशील तथा सिफारिस गरिएका उखुका जात मात्र खेती गर्न आग्रह गरेका हुन्।
चिनी उद्योगहरूले लामो समयदेखि उखु उत्पादनमा देखिएको समस्या, रोग–कीराको प्रकोप, कम उत्पादन, उखुमा चिनीको मात्रा न्यून हुनु तथा उद्योगमा उखु प्रशोधन गर्दा चिनी प्रतिलाभ कम हुने अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजु बाबराले बताए।

उद्योगहरूको संयुक्त सूचना जारी गर्दै CoSe-91269, CoSe-9206, Co-0233, Bo-160, CoS-95422, BO-147, CoP-2061, Co-0235, CoS-8436, BO-91, BO-110, CoSe-88216, Co-86032, CoSe-92270, CoSe-92423, BO-139, BO-141, BO-120, CoSe-07250, CoP-9302, BO-150, CoH-152 र CoIk-8102 लगायतका जातले अपेक्षित उत्पादन तथा चिनी प्रतिलाभ नदिएको भन्दै यस्ता जातको खेती क्रमशः हटाउन किसानलाई विगत चार वर्षदेखि आग्रह गर्दै आएको चिनी मिल सञ्चालक बाबराले बताए।
उद्योगहरूले यी जातका उखु खरिद नगर्ने वा त्यस्ता उखुको व्यवस्थापनमा उखु किसान आफैँले वैकल्पिक उपाय अपनाउनु पर्ने अवस्था आउन सक्ने स्पष्ट संकेत दिएका छन्।
कमजोर जातको उखुबाट खेतमा उत्पादन कम हुनुका साथै उद्योगमा प्रशोधन गर्दा पनि चिनीको रिकभरी कम हुने भएकाले किसान र उद्योग दुवैलाई आर्थिक रूपमा घाटा पुग्दै आएको इन्दु शङ्कर चिनी उद्योगका उखुमहा प्रबन्धक योग नारायण रजकले बताए।
सिफारिस गरिएका जातमा जोड
मधेस प्रदेशमा सञ्चालित चिनी उद्योगहरूले किसानलाई कमजोर जात विस्थापित गर्दै कृषि तथा उखु विज्ञहरूले सिफारिस गरेका उत्पादनशील जातको खेती गर्न आग्रह गरेका छन्।
चिनी मिलहरुले जारी गरेको सूचनामा छिटो पाक्ने र बढी उत्पादन हुनुका साथै चिनीको मात्रा समेत बढी हुने Co-0118, CoIk-94184, Co-15023, CoIk-14201, CoIk-16202, CoS-17231, CoS-18231, CoP-9301, Co-98014, UP-5125, CoIk-15206, CoIk-15466, Co-05011, CoS-08279, CoS-08272 र CoS-13235 लगायतका जातलाई खेतीका लागि सिफारिस गरिएको उल्लेख छ।
उद्योगहरूले सिफारिस गरिएका जातको बीउ तथा उखुको व्यवस्थापनका लागि किसानले सम्बन्धित चिनी उद्योगसँग सम्पर्क राख्नसमेत आग्रह गरेका छन्।
चिनी उद्योगले रोग तथा कीरा नियन्त्रणका लागि ट्राइकोडर्मा, टीपीएम तथा कोराजिन जस्ता रोग–कीरा व्यवस्थापनका उपाय प्रयोग गरी खेती गर्न किसानलाई सुझाव दिँदै आएको उखुमा प्रबन्धक रजकले बताए।
उद्योग र किसान दुवैको हितमा जात सुधार आवश्यक
मधेस प्रदेशमा उखु खेतीको क्षेत्रफल ठुलो भए पनि पुराना तथा कम उत्पादन दिने जातको प्रयोग, गुणस्तरीय बीउको अभाव, रोग–कीराको समस्या र उखुमा चिनीको प्रतिलाभ घट्दै जाँदा किसान तथा चिनी उद्योग दुवैले चुनौती भोग्दै आएका छन्।
चिनी उद्योगीहरूले उखुको उत्पादन मात्र बढाएर हुँदैन, उखुमा चिनीको मात्रा र उद्योगमा प्राप्त हुने रिकभरी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । खेतमा उत्पादन राम्रो देखिए पनि चिनीको प्रतिलाभ कम हुने जातका कारण उद्योगको प्रशोधन लागत बढ्ने र किसानले उत्पादन अनुसारको अपेक्षित आम्दानी लिन नसक्ने अवस्था आएकोले पुराना भेराइटीको उखु खेती छोड्न किसानलाई आग्रह गरेका छन्।
मधेसका उखु किसानले पनि चिनी उद्योगको निर्णयलाई व्यवहारमा लागू गर्नुअघि सिफारिस गरिएका जातको पर्याप्त र गुणस्तरीय बीउ उपलब्ध गराउनुपर्ने, पुरानो जात विस्थापनमा सहजीकरण गर्नुपर्ने तथा खरिद मूल्य र चिनी प्रति लाभबिच स्पष्ट नीति बनाउनुपर्ने माग गरेका छन्।
उखु खेतीमा उन्नत जात परिवर्तन एकै वर्षमा सम्भव नहुने भएकाले उद्योग, किसान, कृषि प्राविधिक र सरकारबिच समन्वय गरेर चरणबद्ध रूपमा कमजोर जात विस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ । अन्यथा उद्योगले कमजोर जात नकिन्ने घोषणा गरे पनि पर्याप्त विकल्प र बीउको व्यवस्था नहुँदा त्यसको प्रत्यक्ष मार किसानमाथि पर्न सक्ने जोखिम समेत उत्तिकै छ।
मधेसका चिनी उद्योगहरूको यो सामूहिक अडानले अब उखु खेतीमा ‘जति उखु, उति आम्दानी’ भन्दा पनि ‘गुणस्तरीय र बढी चिनी दिने उखु’ उत्पादनतर्फ किसानलाई लैजाने बहसलाई थप बल दिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।