जापानका प्रधानमन्त्री साने ताकाइचीले ओकिनावामा अमेरिकी मरीन संलग्न स्थानीय महिलाको हत्या र लुटपाटको घटनालाई लिएर अमेरिकासँग कडा विरोध जनाएकी छन्।
उनले अमेरिकालाई घटनाको अनुसन्धानमा पूर्ण सहयोग गर्न र आफ्ना सैन्य कर्मचारीमाथि कडा अनुशासन लागू गर्न आग्रह गरेकी हुन्। सोमबार संसद्लाई सम्बोधन गर्दै ताकाइचीले घटनालाई ‘जघन्य अपराध’ भन्दै अत्यन्तै खेदजनक भएको बताइन्। उनले यस्ता घटना दोहोरिन नदिन अमेरिकालाई आग्रह गरेकी छन्।
प्रहरीका अनुसार ओकिनावामा तैनाथ २० वर्षीय अमेरिकी मरीन डेभिन ज्याकब बलार्डलाई शनिबार नाहा सहरको एक होटलमा ३९ वर्षीया स्थानीय महिला अन्ना यागीको हत्या र लुटपाट गरेको आशंकामा पक्राउ गरिएको थियो। प्रहरीले सोमबार उनलाई अभियोजककहाँ पठाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार बलार्डले आरोप अस्वीकार गरेका छन्।

प्रहरीका अनुसार होटलको सुरक्षा क्यामेराको फुटेजमा एक व्यक्ति महिलासँग कोठामा प्रवेश गरेको र केही समयपछि सामान लिएर बाहिरिएको देखिएको छ। घटनास्थलनजिकै महिलाको झोला र पर्स पनि फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाअघि र पछि बलार्डको गतिविधि तथा उनी र महिलाबिचको सम्बन्धबारे पनि अनुसन्धान गरिरहेको छ।
जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले टोकियोले विभिन्न तहमा अमेरिकासँग विरोध जनाएको बताए। उनले जापान र अमेरिकाले यस्ता घटना दोहोरिन नदिन मिलेर काम गर्ने बताएका छन्।
ओकिनावाका गभर्नर गेन्टा कोजाले पनि अमेरिकी अधिकारीहरूसँग भेटेर विरोध जनाएका छन्। उनले घटना ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताउँदै अमेरिकी सैन्य कर्मचारीमाथि अनुशासन लागू गर्ने र मानव अधिकारसम्बन्धी शिक्षा दिने प्रयास प्रभावकारी नभएको बताएका छन्।
जापानी विदेशमन्त्री तोशिमित्सु मोटेगीले जापानका लागि अमेरिकी राजदूत जर्ज ग्लासलाई बोलाएर घटनाप्रति कडा विरोध जनाएका छन्। रक्षामन्त्री शिन्जिरो कोइजुमीले पनि जापानस्थित अमेरिकी सेनाका कमाण्डरसँग छुट्टै विरोध जनाएका छन्।
अमेरिकी राजदूत ग्लासले अनुसन्धानमा जापानी अधिकारीलाई पूर्ण सहयोग गर्ने बताएका छन्। अमेरिकी सेनाले पनि जापानी अधिकारीसँग सक्रिय रूपमा सहकार्य गरिरहेको जनाएको छ। अमेरिकी सेनाको तेस्रो मरीन एक्सपिडिसनरी फोर्सले बलार्ड आफ्नो फोर्समा कार्यरत रहेको पुष्टि गरेको छ।
अमेरिकी सैन्य कर्मचारीसँग सम्बन्धित विगतका घटनाका कारण ओकिनावामा लामो समयदेखि असन्तुष्टि रहँदै आएको छ। पछिल्लो घटनापछि पनि ओकिनावामा अमेरिकी सैन्य उपस्थितिलाई लिएर विरोध बढेको बताइएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।