नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफूले नेकपा एमालेलाई असाध्यै माया गर्ने बताएका छन्। लामो समय नेतृत्व गरेको र आफ्नै रगत–पसिना रहेको पार्टी भएकाले एमालेप्रति आफ्नो गहिरो माया र सम्मान रहेको उनले बताएका हुन्।
‘नागरिक फ्रन्टलाइन’ मा अन्तर्वार्ता दिदैँ खनालले एमालेले आफूले निर्माण गरेको पार्टी भएको र अहिले अलग ठाउँमा रहे पनि पार्टीका नेता तथा कार्यकर्ताप्रति आफ्नो सम्मान रहेको बताए।
‘नेकपा एमाले पार्टीलाई असाध्यै माया गर्छु। नेकपा एमाले त मैले बनाएकै पार्टी हो। लामो समय मैले नेतृत्व गरेकै पार्टी हो। मेरो रगत–पसिना त्यहाँभित्र छ,’ खनालले भने, ‘त्यसकारण म त्यो नेकपा एमाले पार्टीलाई असाध्यै माया गर्छु।’

उनले एमाले निर्माणमा लामो समय दुःख र कष्ट गरेका कार्यकर्ताप्रति पनि आफ्नो गहिरो माया र सम्मान रहेको बताए। तर एमालेले अहिले दक्षिणपन्थी कार्यदिशा लिएको भन्दै त्यो नै आफूहरूबीच एकताको मुख्य बाधक रहेको खनालको भनाइ छ।
‘अब अहिले एकताबद्ध हुनको लागि चाहिँ पार्टी अहिले दक्षिणपन्थी कार्यदिशा लिएर हिँडिरहेको छ। सबभन्दा ठूलो बाधा त्यही हो,’ उनले भने, ‘त्यो कार्यदिशा सचिने हो भने, त्यसलाई क्रान्तिकारी कार्यदिशामा रूपान्तरित गर्ने हो भने मैले अलग ठाउँमा बस्नुपर्ने, अरू अनेक साथीहरूले अलग ठाउँमा बस्नुपर्ने आवश्यकतै रहँदैन।’
खनालले २०६२।६३ को राजनीतिक परिवर्तनपछि नेपालमा समाजवादी क्रान्ति र रूपान्तरणको युग सुरु भएको दाबी गरे। संविधान निर्माणका लागि केही वर्ष बितेपछि भएको निर्वाचनमा नेपाली जनताले वामपन्थी शक्तिलाई ठूलो समर्थन दिएको उनले बताए।
‘त्यो जिताइसकेपछि त्यो पार्टीको, त्यो नेतृत्वको दायित्व के थियो त भन्दा पहिलो कुरा भूमि सुधार गर्ने दायित्व थियो। दोस्रो कृषि क्रान्ति गर्ने दायित्व थियो,’ खनालले भने।
उनले मुलुकलाई व्यापक रूपमा औद्योगीकरण गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक रूपान्तरण गर्ने तथा राष्ट्रियतालाई सुदृढ बनाउने काम पनि तत्कालीन सरकारको दायित्व रहेको बताए।
तर सरकार भूमि सुधार, कृषि क्रान्ति र औद्योगीकरणतर्फ गम्भीर रूपमा अघि बढ्न नसकेको खनालको आरोप छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि अपेक्षित सुधार हुन नसकेको उनले बताए।
‘दुई लाख शिक्षक राजधानीमा आएर झन्डै १५ दिनको सातु–सामल गोजीमा हालेर आएर आन्दोलन गरे। बाबा, एउटा नयाँ ऐन बनाइदिनुस् न, नयाँ शिक्षा व्यवस्था, हामी बालबालिकाहरूलाई नयाँ शिक्षा दिन्छौँ भनेर भने,’ उनले भने, ‘तर झन्डै दुई तिहाइ बहुमत भएको सरकारले कानमा ठेडी हालेर बस्यो।’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।