राजनीति

ईपीजीको औचित्य सकिएको भारतीय भनाइपछि परराष्ट्रले भन्यो- प्रतिवेदन पेस हुने अपेक्षा छ

नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन पुरानो भएको र औचित्य सकिएको भन्ने भारतीय अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले शुक्रबार मुख खोलेको छ। मन्त्रालयले ईपीजी प्रतिवेदन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस हुने अपेक्षा कायमै रहेको जनाएको छ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दुवै प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस हुने विश्वास व्यक्त गरे। ‘ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ,’ उनले भने।

भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले गत सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजी पुरानो भएको र यसको औचित्य सकिएको अभिव्यक्ति दिएका थिए।

विज्ञापन

सोही अभिव्यक्तिपछि परराष्ट्र प्रवक्ता क्षेत्रीले ईपीजीका मूलभूत उद्देश्यअनुसार द्विपक्षीय कामलाई निरन्तरता दिनुपर्ने बताए।

‘ईपीजी गठन हुनुका जुन मूलभूत उद्देश्यहरू थिए, ती द्विपक्षीय विषयहरूलाई दुवै पक्षले संयुक्त रूपमा तीसम्बन्धी कामलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो विश्वास रहिआएको छ,’ उनले भने।

ईपीजीसम्बन्धी विषयलाई परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्पष्ट पारेको क्षेत्रीले जनाए।

२०७५ सालमा तयार भएको ईपीजी प्रतिवेदन पहिला भारतका प्रधानमन्त्रीलाई र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति भएको थियो। तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न नमान्दा यो हाल दराजमा थन्किएर बसेको छ।

लामो समयसम्म प्रतिवेदन बुझ्न नमानेपछि ईपीजीमा नेपालतर्फका संयोजक भेषबहादुर थापाले २०८३ जेठ २१ गते प्रतिवेदन राखेको दराजको साँचो परराष्ट्रमन्त्री खनाललाई बुझाएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।