राजनीति

आफूलाई १३ दिन थुनेर सरकारले राक्षसीराज चलाएको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई जस्तो मान्छेलाई १३ दिन विनाकारण हिरासतमा राखेर सरकारले नेपालमा ‘राक्षसीराज’ सञ्चालन गरिरहेको आरोप लगाएका छन्।

एमालेको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उनले राक्षसीराज अझै चलिरहे तथा शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप भए फोर्स आन्दोलन र प्रतिवादमा उत्रिने चेतावनी दिए।

६० वर्ष देशका लागि काम र योगदान गरेको तथा जेलनेल र यातना सहेको नेतालाई अकारण गिरफ्तार गरेर हिरासतमा लिइएको भन्दै ओलीले आक्रोश पोखे।

विज्ञापन

‘१३ दिन किन थुनेको ? जङ्गली राज हो यो ? मनपरी तन्त्र चलाउन पाउने ठाउँ हो ?’ उनले प्रश्न गरे, ‘यो जङ्गलीराज मात्रै होइन, राक्षसी राज भयो। यदि राक्षसी राज सधैं चलाउन खोज्छ भने अब नेपाली जनता, युवाहरू र नेशनल युथ फोर्स चुप लागेर बस्दैन।’

आफूलाई गिरफ्तार गरेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा, जनता र नेताहरूलाई समेत सरकारले दुर्व्यवहार गरेको ओलीले आरोप लगाए।

त्यसबेला कानुनभन्दा माथि नेपाल सरकारको आदेश भई शान्तिपूर्ण रूपमा सडकमा निस्किएकाहरूमाथि निर्दयताका साथ आक्रमण र लाठी प्रहार गरिएको, ‘झोले’ भनेर अपमान गरिएको तथा कुटेर ‘आनन्द आयो, मज्जा आयो आज’ भनी टिप्पणी गरिएको दृश्य देखिएको उनको भनाइ छ।

अध्यक्ष ओलीले नेसनल भोलेन्टियर्स फोर्स देखाउनका लागि मात्रै नभई काम, परिवर्तन र शान्ति स्थापनाका लागि गठन गरिएको उल्लेख गरे।

फोर्स आफैं निहुँ नखोज्ने तर कोही निहुँ खोज्न आए चुप लागेर नबस्ने उनको चेतावनी छ। ‘यो लड्ने-भिड्ने होइन, राम्रो गर भनेर आग्रह गर्ने फोर्स हो,’ उनले भने, ‘तर मान्दैन भने के गर्ने ? आक्रमण गर्न आउँछ भने के गर्ने ? हमला गर्छ भने के गर्ने ?’

आफूहरू कहिल्यै भिडन्त खोज्दै नहिँड्ने तर प्रहार भए जवाफ फर्काउन बाध्य हुने ओलीले स्पष्ट पारे। ‘हामी निहुँ खोज्न जाँदैनौं, हामीसँग तागत नभएर होइन,’ उनले भने, ‘तागत छ भन्दैमा एउटा खेलाडीले, एउटा पहलवानले मुक्का-मुक्का हान्दै हिँड्दैन। उसैमाथि प्रहार गर्‍यो भने फर्काउन बाध्य हुने अवस्था हुन्छ।’

सो अवसरमा ओलीले नेसनल युथ फोर्सलाई संगठन विस्तारसँगै राष्ट्रव्यापी रूपमा सुदृढ र परिणाममुखी बनाउन निर्देशन दिए। साथै, देशभर हुने बेथिति रोक्न र गलत गतिविधिविरुद्ध खबरदारी गर्न फोर्स सक्रिय हुनुपर्नेमा उनले जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।