राजनीति

‘हामी चुनावमा पार्टी बनाउन होइन, जित्न जान्छौं’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पङ्क्तिलाई आन्दोलन र चुनाव दुवैको तयारीमा जुट्न निर्देशन दिएका छन्।

मङ्गलबार अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले अन्य दलहरू चुनावको माध्यमबाट पार्टी बनाउन खोजिरहेका बेला एमाले भने सुदृढ सङ्गठनका साथ चुनाव जित्न जाने दाबी गरे।

अध्यक्ष ओलीले एमालेलाई देशको निर्णायक राजनीतिक र राष्ट्रिय शक्तिका रूपमा विकास गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको बाटोमा अघि बढ्ने बताए।

विज्ञापन

चुनाव जित्नैपर्ने उल्लेख गर्दै उनले महासङ्घका नेता तथा कार्यकर्तालाई हरेक किसानको घरदैलोमा पुगेर भेटघाट, संवाद, गोलबन्द र परिचालन गर्न निर्देशन दिए।

सम्बोधनका क्रममा ओलीले प्रतिस्पर्धी दलहरूप्रति कटाक्ष गर्दै हावाहुरीको भरमा धाक नलगाउन टिप्पणी गरे।

‘कोही-कोही पार्टी हावा र हुरीका भरमा आँगनका पात पर सरेका बेला मैले बढारेर सफा गरें भनेर धाक लगाउने खालका छन्,’ उनले भने, ‘चुनावको माध्यमबाट पार्टी बनाउन खोज्दैछन्। हामी चुनावमा पार्टी बनाउनेभन्दा पनि पार्टी लिएर चुनावमा जित्न जान्छौं।’

विगतमा देशी-विदेशी शक्ति र अन्य दल मिल्दा पनि एमालेलाई सिध्याउन नसकेको दाबी गर्दै ओलीले पार्टीविरुद्ध भइरहेका बहिष्कार र ‘झोले’ जस्ता टिप्पणीको आलोचना गरे।

कसैले बहिष्कार गर्दैमा एमालेलाई फरक नपर्ने बताउँदै ओलीले आफ्नो पार्टी नै देशको सबैभन्दा मजबुत देशभक्त, लोकतान्त्रिक, सुशासन तथा विकास दिने, स्पष्ट दृष्टिकोण र व्यापक सङ्गठन भएको शक्ति रहेको दाबी गरे। उनले कार्यकर्तालाई उच्च मनोबल र आत्मविश्वासका साथ हरेस नखाई अगाडि बढ्न आग्रह गरे।

किसान महासङ्घले माघमा तय गरेको महाधिवेशन तथा जिल्ला र पालिका अधिवेशनतर्फ इङ्गित गर्दै ओलीले आन्तरिक लोकतन्त्रका नाममा अनावश्यक तानातान र रस्साकसी नगर्न सचेत गराए। उनले सङ्गठनभित्र आपसमा एकता कायम गर्दै प्रतिस्पर्धा विपक्षीसँग गर्नुपर्नेमा जोड दिए।

अधिवेशनमा सकेसम्म सहमति र विचार-विमर्शबाट सक्षम नेतृत्व चयन गर्न प्रेरित गर्दै ओलीले कसैलाई चुनाव लड्ने इच्छा भएमा पार्टीले नरोक्ने स्पष्ट पारे।

‘सङ्गठनभित्र मिलेर अधिवेशन गर्न प्रेरित गर्नुस्, भएन भने चुनाव गराउनुस्,’ उनले भने, ‘विपक्षीसँग लड्न एकताबद्ध भएर अगाडि जानुस्।’

दिउँसो १ बजे पार्टीको स्थायी कमिटी बैठक रहेकाले उनले बैठकमा छोटो समय मात्र सम्बोधन गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।