श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद हर्कराज राई (सामपाङ) ले आफूलाई काट्छु र मार्छु जस्ता सन्देश पठाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन नसक्ने वर्तमान सरकारले नागरिकलाई सुरक्षा दिन नसक्ने बताएका छन्।
गृहमन्त्री सुदन गुरुङ गृहमन्त्री नभई ‘घरमन्त्री’ जस्तो बनेको आरोप समेत राईले लगाए।
श्रम संस्कृति पार्टीले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आयोजना गरेको कार्यक्रममा बोल्दै राईले भने, ‘मलाई काट्छु र मार्छु जस्ता म्यासेज आउँछन्, लौन कारबाही गर्नुपर्यो भनेर गृहमन्त्रीलाई भन्यो, साइवरमा उजुरी गर्यो,माननीयज्यू यो त केही पनि गर्न नसकिने रहेछ भनेर जवाफ आउँछ’।

वर्तमान सरकार नागरिकको जीउधनको सुरक्षा गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै राईले आफ्नो सुरक्षामा आफैँ संवेदनशील बन्न कार्यकर्तालाई आग्रह समेत गरे।
इनम सापकोटाको नामै लिएर राईले एउटा बिचौलिया पड्किदा सरकार आत्तिएर प्रहरी महानिरीक्षक बर्खास्तीसम्म गर्नुपर्ने अवस्थामा पुगेको दाबी गरे।
‘देशमा अहिले दुई जना आइजिपी छन्, एक हुँदाहुँदै सरकार आफैँले आइजिपी माथि सौता हालिदियो,’राईले भने,‘अब दोस्रोलाई पनि सौता हालेर तेस्रो बनाउन बेर छैन’।
प्रहरी संगठनलाई काम गर्ने वातावरण सरकारले बनाइदिनु पर्नेमा दबाब र प्रभावमा पारेर प्रहरी संगठनको मनोबल घटाउने काम सरकारले गरिरहेको राईको आरोप थियो।
‘प्रहरीलाई चोर पक्रेर ल्याऊ भन्छ, चोर पक्रियो भने हैन यो त मेरो मान्छे भनेर चोर पक्रिने प्रहरीलाई कारबाही गर्न थालिहाल्छ,’उनले भने।
प्रहरी संगठनमा काम गर्ने वातावरण नै बन्न नसकेको बताउँदै राईले प्रहरी कर्मचारीको सरुवा र बढुवामा समेत सरकारले अनावश्यक हस्तक्षेप गरेको आरोप समेत लगाए।
राईले आफूमाथि जातिवादी राजनीति गरेको आरोपको खण्डन गर्दै भने,‘म कुन एङ्गलबाट जातिवादी देखिन्छु, मत नागरिकवादी हुँ, देशभक्त र श्रमवादी हुँ’।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।