राजनीति

सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुन नसकेको भन्दै प्रश्न गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले उक्त प्रश्न गरेका हुन्। उनले हरेक दुर्घटनापछि छानबिन समिति बनाउने, केही दिन चर्चा गर्ने र त्यसपछि घटनालाई बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।

नेता आङ्देम्बे नागरिकको जीवनसँग जोडिएको विषयमा सरकारको उदासीनता कहिलेसम्म रहने भन्दै अब सडक सुरक्षामा ठोस सुधार आवश्यक रहेको औंल्याए। राज्यले नागरिकको जीवनको मूल्य बुझ्नुपर्ने उनको भनाइ छ।

विज्ञापन

‘हरेक दुर्घटनापछि छानबिन समिति बनाउने, केही दिन चर्चा गर्ने र त्यसपछि घटनालाई बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्छ। नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व हो,’ उनले प्रश्न गर्दै भने, ‘सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुँदैन? नागरिकको जीवनसँग जोडिएको विषयमा सरकारको यस्तो उदासीनता कहिलेसम्म? अब सडक सुरक्षामा ठोस सुधार आवश्यक छ। राज्यले नागरिकको जीवनको मूल्य बुझ्नुपर्छ।’

यस्तै, उनले आजदेखि सुरु भएको छठ पर्व मनाउँदै परिवारसँग खुसी साट्न घर फर्किरहेका यात्रुहरूको यात्रा बीच बाटोमै सदाका लागि टुंगिनु अत्यन्तै दुखद र पीडादायी घटना भएको बताए। मकवानपुरको चिसापानीगढीमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। पर्वको खुसी बोकेर घर हिँडेका नागरिकहरूको परिवारमा अहिले असह्य पीडा र शोक छाएको भन्दै उनले दु:ख व्यक्त गरे।

दुर्घटनामा घाइते भएकाहरूको उपचारमा कुनै कमी हुन नदिन र सम्पूर्ण उपचारको व्यवस्था मिलाउन सरकारसँग उनले माग समेत गरेका छन्।

दुर्घटनामा परेको सवारी र सडकको अवस्था मात्र कधारण नभइ दुर्घटनामा कसको के कमजोरी रह्यो? क्षमताभन्दा बढी यात्रु राखिएको थियो कि थिएन? सवारीको प्राविधिक अवस्था कस्तो थियो? यात्रुको विवरण प्रहरी चेकपोस्टमा किन अद्यावधिक गरिएन? चेकपोस्टमा खटिएका प्रहरी र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी किन पूरा गरेनन्? भन्ने सबै प्रश्नको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनको तर्क छ।

‘यसअघि रोल्पाको जलजलामा भएको दुर्घटनामा २० जनाले ज्यान गुमाउँदा पनि सरकारले छानबिन समिति बनाएको थियो। तर त्यसको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन। न दुर्घटनाको कारण सार्वजनिक भयो, न भविष्यमा यस्ता दुर्घटना रोक्न सरकारले के कदम चाल्यो भन्ने जानकारी दिइयो,’ उनले लेखेका छन्।

साथै, दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।