नेकपा (एमाले) ले संसदीय सङ्घर्ष, सरकारमा रहँदाका कामको समीक्षा र आगामी स्थानीय तह निर्वाचनको कार्ययोजनामा केन्द्रित रहेर मङ्सिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख नीरज आचार्यले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
भेलामा करिब तीन हजार ४१४ जनाको सहभागिता रहनेछ। भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशासहितको वैचारिक तथा राजनीतिक मार्गदर्शन गर्नेछन्।

मुलुकको परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी महत्त्वपूर्ण कार्यपत्रसमेत भेलामा प्रस्तुत गरिनेछ। सो अवसरमा पार्टी उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा र अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्त्वपूर्ण काम तथा उपलब्धिको समीक्षा प्रस्तुत गर्नेछन्।
यस्तै, महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले पार्टीलाई थप एकताबद्ध बनाउँदै साङ्गठनिक सुदृढीकरण गर्न र आगामी स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न भेला आयोजना गरिएको बताए।
उनका अनुसार राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न पार्टी केन्द्रीय कमिटीद्वारा पारित आजका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई एकजुट भई कार्यान्वयनका लागि जनतासमक्ष प्रभावकारी रूपमा सम्प्रेषण गर्नु भेलाको मुख्य ध्येय रहेको छ।
‘आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टीपङ्क्तिमा पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरी वैचारिक तथा सङ्गठनात्मक एकतालाई सुदृढ बनाउने भेलाको उद्देश्य रहेको छ,’ उनले भने, ‘भेलाले पार्टीलाई नयाँ सञ्चार गर्नेछ।’
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, पार्टीका प्रदेश र जिल्ला कमिटीका पदाधिकारी (प्रवासबाट) तथा पालिका कमिटीका अध्यक्ष र उपाध्यक्षहरू सहभागी हुनेछन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।