राजनीति

‘विश्वकै कान्छा प्रधानमन्त्री’ भन्दै मोदीले सम्झिए शाहको यूएन सम्बोधन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ (यूएन) मा गरेको सम्बोधन स्मरण गर्दै उनको दूरदर्शिता र नेपाल-भारत सम्बन्धप्रतिको स्पष्ट दृष्टिकोणको प्रशंसा गरेका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले केही महिनाअघि शाहले विश्वकै कान्छा प्रधानमन्त्रीका रूपमा यूएनलाई सम्बोधन गर्दा उनको दूरदर्शिताको झलक देखिएको बताएका हुन्।

‘केही महिनाअघि विश्वकै कान्छा प्रधानमन्त्रीका रूपमा उनले यूएनलाई सम्बोधन गर्दा हामीले उनको दूरदर्शिताको स्पष्ट झलक देखेका थियौँ। आज पछिल्ला केही घण्टाको छलफलमा मैले नेपालको भविष्य र भारत-नेपाल सम्बन्धका लागि उनको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु,’ मोदीले भने।

विज्ञापन

यस वर्ष नेपाली जनताले शाहलाई दिएको ऐतिहासिक जनादेशले नयाँ पुस्ताका आकांक्षा र अपेक्षा झल्काएको उनले बताए। भारत सशक्त र समृद्ध नेपालको विकास यात्रामा सधैँ साझेदार रहेको उल्लेख गर्दै मोदीले दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण निर्णय गरिएको जानकारी दिए।

उनले नेपाल र भारतबिचको सम्बन्ध छिमेकीको मात्र नभई आत्मीयता र अटुट विश्वासको सम्बन्ध रहेको बताए। दुवै देशका खुसी र चुनौती साझा रहेको भन्दै उनले एकअर्काको प्रगतिमा साझेदार र कठिन समयमा सहारा बन्दै आएको उल्लेख गरे।

उनले गत भदौमा आएको रसुवा बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँको विकास सहयोग प्याकेज घोषणा गरे। यसबाट प्रभावित परिवारको जीवन सामान्य अवस्थामा फर्काउन, नयाँ अवसर सिर्जना गर्न र भविष्यमा आइपर्ने विपत्तिसँग जुध्न नेपालको क्षमता बढाउन सहयोग पुग्ने उनले बताए।

मोदीले नेपाल र भारतबिच साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको सम्बन्ध रहेको उल्लेख गरे। भगवान् राम र माता सीतालाई दुवै देशको साझा सभ्यता र आस्थाको प्रतीकका रूपमा प्रस्तुत गर्दै उनले नेपालबिना भारतका धार्मिक धाम र भगवान् रामसमेत अधुरो हुने धारणा व्यक्त गरे।

उनले सन् २०१८ मा जनकपुर भ्रमणका क्रममा पनि यही कुरा उल्लेख गरेको स्मरण गरेका छन्। सन् २०२४ मा अयोध्यामा रामललाको प्राणप्रतिष्ठापछि साझा धार्मिक आस्थाले नयाँ ऊर्जा पाएको र सन् २०२५ मा मात्रै भारत तथा विश्वका करिब ३० करोड श्रद्धालुले अयोध्या भ्रमण गरेको उनले सुनाए।

जनकपुर र अयोध्याबिचको धार्मिक सम्बन्धलाई थप बलियो बनाउन सरयू कमला एक्सप्रेस रेल सेवा सुरु गरिएको उनले जानकारी दिए। यसले अयोध्या जाने श्रद्धालुलाई जनकपुर पुगेर माता सीताको दर्शन गर्नसमेत सहज बनाउने उनको भनाइ थियो। त्यसैगरी, लुम्बिनी र बोधगयासहित दुवै देशका बौद्ध तथा शिवशक्तिसँग सम्बन्धित धार्मिक स्थलबिच सम्पर्क विस्तार गर्न मिलेर काम गर्ने उनले बताए।

मोदीले नेपाल र भारतबिचको व्यापार तथा आवतजावत सहज बनाउन विभिन्न पूर्वाधार आयोजना अघि बढाइएको बताए। उनका अनुसार उत्तराखण्ड र नेपालबिचको धार्चुला सडक पुल उद्घाटन गरिएको छ भने बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ। नेपालतर्फ दोधारा चाँदनी एकीकृत जाँच चौकीको काम पनि तीव्र गतिमा अघि बढाइने उनले बताए।

त्यस्तै, बिहार, उत्तर प्रदेशलगायत भारतका विभिन्न राज्य र नेपालबिच सडक, रेल तथा सीमा सम्पर्कसम्बन्धी आयोजनालाई गति दिने भारतको योजना रहेको उनले जानकारी दिए। नेपालको पारवहन व्यापार सहज बनाउन काण्डला र पारादीप बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने घोषणा पनि उनले गरे। राम्रो व्यापारिक सम्पर्क र लगानीका प्रयासले नेपालको आर्थिक विकासलाई गति दिने उनको विश्वास थियो।

मोदीले नेपालको नदीमा स्वच्छ ऊर्जाको ठूलो सम्भावना रहेको उल्लेख गर्दै भारतको विशाल ऊर्जा बजारले नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिन सक्ने बताए। उनले तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र अरुण तेस्रो आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

भारतले नेपाललाई लामो समयदेखि पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुको विश्वसनीय आपूर्तिकर्ताका रूपमा सहयोग गर्दै आएको पनि उनले बताए। यस वर्ष तेल आपूर्तिमा चुनौती भए पनि नेपालमा इन्धन, मल र अन्य आवश्यक वस्तुको आपूर्ति निरन्तर राखिएको उनले जानकारी दिए। मोदीले मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरिएको र झापामा पेट्रोलियम टर्मिनलको शिलान्यास गरिएको बताए।

नेपालको युवा पुस्तामा प्रतिभा, ऊर्जा र ठूला सपना रहेको भन्दै मोदीले ती सपना पूरा गर्न भारतले सहकार्य गर्ने बताए। यसका लागि नेपालमा स्टार्टअप इन्क्युबेटर, नवप्रवर्तन केन्द्र र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने घोषणा उनले गरेका छन्।

त्यसैगरी, नेपाली विद्यार्थीका लागि भारतमा कानुन र प्रविधि विषयमा छात्रवृत्तिका अवसर बढाइने उनले बताए। खाद्य प्रशोधन र उत्पादनको मूल्य अभिवृद्धिलाई प्रोत्साहन गर्न नेपालमा कृषि औद्योगिक पार्क स्थापना गर्न पनि भारतले सहयोग गर्ने उनको भनाइ थियो।

मोदीले रामायणको कथा फिल्म र आधुनिक प्रविधिमार्फत नयाँ पुस्ता तथा विश्वभर पुर्‍याउन नेपाल र भारतका युवा सिर्जनाकर्मीले मिलेर काम गर्नुपर्ने बताए। यसका लागि आगामी वेभ समिटमा नेपालको ठूलो प्रतिनिधिमण्डललाई स्वागत गर्ने उनले जानकारी दिए। त्यसैगरी, खेलकुद विशेषगरी क्रिकेटको पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणमा नेपाललाई सहयोग बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।