पोखरामा आयोजना हुने लेखनाथ महोत्सव यस वर्ष आगामी पुस २ गतेदेखि हुने भएको छ। लेखनाथ उद्योग वाणिज्य संघले हरेक वर्ष आयोजना गर्दै आएको लेखनाथ महोत्सवको २२औँ संस्करण पुस २ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा ३ सय ३५ वटा स्टल रहने जनाइएको छ।
महोत्सवमा गार्मेन्ट तथा रेडिमेड कपडाका ११२ स्टल रहने महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष युवराज भण्डारीले जानकारी दिए। उनका अनुसार कृषि तथा पशुजन्य वस्तुका ४०, किचन सामग्रीका २६, जनरल स्टल २४, फुट एन्ड बेभरेजका १८, खाना महोत्सवका १७, हस्तकलाका १४, शैक्षिक/ग्रामीण प्रविधि/कृषि प्रदर्शनीका १३, डेरीका १३, मेसिनरीका १२, नेपाली उत्पादन प्रदर्शनीका १०, अटो प्रदर्शनीका ६ तथा बैंक, वित्तीय संस्था र प्रायोजकका ३० स्टल रहनेछन्।
महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला, दैनिक उपभोग्य सामग्री, विद्युतीय उपकरण, फर्निचर, सूचना प्रविधि र सञ्चार उपकरणका साथै स्थानीय सुन्तला, माछा, मह, कफी, ताजा तरकारी र दुग्धजन्य उत्पादनको बिक्री तथा प्रदर्शनी हुनेछ। त्यस्तै, फुड फेस्टिभल, अटोमोबाइल र ग्रामीण प्रविधिको प्रदर्शनी, कृषि, पर्यटन र उद्योगबारे संवाद कार्यक्रम पनि रहनेछन्। महोत्सवको आकर्षणका रूपमा ‘एसियाको ज्योति’ तथा शान्तिका दूत मानिने गौतम बुद्धको प्रतिमा राखिने उनले जानकारी दिए।

संघले पहिलो चरणमा संघका सदस्यहरूका लागि मंसिर ७ गतेदेखि स्टल बुकिङ खुला गरेको छ। अन्यका लागि भने मंसिर ११ गतेदेखि स्टल बुकिङ खुला गरिने भण्डारीले जानकारी दिए। संघका सदस्यका लागि स्टल बुकिङमा २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप २ हजार रुपैयाँ छुट प्रदान गरिने उनले बताए।
आयोजकले महोत्सव २ लाख ७० हजार दर्शकले अवलोकन गर्ने दाबी गरेको छ। महोत्सव अवधिभर १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको उपाध्यक्ष भण्डारीले बताए।
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र पप कन्सर्टका लागि दुई सय रुपैयाँ प्रवेश शुल्क तोकिएको पनि उनले जानकारी दिए।
चुनौतीका बीच महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष जानुका पराजुली अधिकारीले बताइन्। विषम आर्थिक परिस्थितिका बीच महोत्सव आयोजना गर्न लागेको बताउँदै उनले भनिन्, “सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीय उत्पादनको बजारीकरण गरी कृषकलाई सम्भावनाको बाटो देखाउन चुनौतीका बीच महोत्सव गर्न गइरहेका छौँ।”
उनले निजी क्षेत्रको मनोबल खस्किएकोसमेत बताइन्। लगानीको वातावरण नबन्दा निजी क्षेत्र लगानीका लागि तयार नभएको बताउँदै उनले थपिन्, “बैंकमा तरलता प्रशस्त भए पनि लगानीमैत्री वातावरण नभएकाले निजी क्षेत्र लगानी गर्न इच्छुक छैन। त्यसमाथि अनुगमनका नाममा हुने हैरानी र व्यवसायमैत्री नभएको कर प्रणालीले पनि हाम्रो मनोबल खस्किएको छ।”
आयोजकले महोत्सवबाट २० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखेको छ। महोत्सवबाट १ करोड ५ लाख रुपैयाँ आम्दानी र ८५ लाख रुपैयाँ खर्च गरी उक्त रकम बचत हुने अनुमान गरिएको संघका महासचिव भरतराज ओझाले बताए। “बचत रकम सात तालको संरक्षण तथा प्रवर्द्धन, नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणको पहल, पर्यटन प्रवर्द्धन र सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिनेछ,” उनले भने।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।