रोमानियामा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न सरकारले पहल थालेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले नेपाली राजदूतावास र वैदेशिक रोजगार विभागसँग समन्वय गरी श्रमिकका गुनासा सम्बोधन तथा उनीहरूको हकहित संरक्षणका लागि प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयले रोमानियासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावाससँग समन्वय गरेर त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या पहिचान र समाधान गर्ने काम गरिरहेको जनाएको छ।
यसैगरी, वैदेशिक रोजगार विभागले समस्यामा परेका नेपाली श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूको अवस्था र गुनासोबारे जानकारी संकलन गरिरहेको छ। ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट प्राप्त सूचना र गुनासोका आधारमा विभागले आवश्यक पहल अघि बढाएको हो।

श्रमिकका गुनासा र प्रारम्भिक तथ्यका आधारमा विभागले रोमानियामा नेपाली कामदार पठाउने प्रक्रियामा संलग्न इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी तथा अन्य वैदेशिक रोजगार व्यवसायी संस्थाको भर्ना प्रक्रिया र गतिविधिमाथि अनुगमन तथा छानबिनसमेत सुरु गरेको छ।
छानबिनका क्रममा सम्बन्धित संस्थाको भूमिका, श्रमिक छनोट तथा भर्ना प्रक्रिया र सेवा शुल्कलगायतका विषयमा अध्ययन भइरहेको विभागले जनाएको छ। अनुगमनबाट प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक परे थप विस्तृत अनुसन्धान गरिनेछ।
गैरकानुनी रूपमा सेवा शुल्क असुली, भ्रामक सूचना प्रवाह, श्रमिकमाथि अनुचित दबाब, रोजगारीका सर्तमा अनियमितता वा अन्य गैरकानुनी गतिविधि भएको पुष्टि भए सम्बन्धित संस्था तथा व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ।
रोमानियामा नेपाली श्रमिकको उपस्थिति बढ्दै गएको अवस्थामा देखिएका समस्या समाधान गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले वैदेशिक रोजगार प्रक्रियाको नियमन र अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरेको छ। यसका लागि सम्बन्धित निकायबीचको समन्वयलाई थप सुदृढ बनाउने विषयलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।