भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई उनका स्वर्गीय बुबा डा. रामनारायण शाहको विद्यार्थी जीवनको पुरानो तस्बिर उपहार दिएका छन्।
गुजरातको जामनगरस्थित आयुर्वेद विश्वविद्यालयमा अध्ययन गर्दाको उक्त तस्बिर मोदीले बालेन्द्रलाई दिएका हुन्। रामनारायणले सोही विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए। उनको गत वर्ष ७७ वर्षको उमेरमा काठमाडौंस्थित सिभिल अस्पतालमा निधन भएको थियो।
त्यस्तै, मोदीले वाराणसीको गंगाजल, बनारसी ब्रोकेड स्टोल र रामायणको सम्पूर्ण कथा चित्रण गरिएको कलमकारी चित्र पनि उपहार दिए। दैनिक भास्करका अनुसार बनारसी स्टोल परम्परागत गुजराती साडेली बक्समा राखिएको थियो।

सन् १९४८ मा महोत्तरीको एकडारा गाउँमा जन्मिएका रामनारायणका बुबा मुनीलाल शाह त्यस क्षेत्रका प्रभावशाली जग्गाधनी थिए। उनको परिवार खेतीपातीमा संलग्न थियो र स्थानीय समुदायमा प्रभाव राख्थ्यो।
आयुर्वेदलाई आफ्नो पेसा बनाउने निर्णय गरेका रामनारायण उच्च शिक्षा हासिल गर्न भारत गएका थिए। उनले गुजरातको जामनगरस्थित आयुर्वेद विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेपछि सन् १९८० को दशकको सुरुवातमा नेपाल फर्किए।
नेपाल फर्किएपछि उनले सरकारी आयुर्वेद चिकित्सकका रूपमा काम सुरु गरे। उनलाई सिंहदरबार वैद्यखानामा नियुक्त गरिएको थियो। उनले सन् २००१ देखि २००५ सम्म वैद्यखानाको प्रबन्ध निर्देशकका रूपमा समेत काम गरेका थिए।
काठमाडौंमा लामो समय बसेर काम गरे पनि रामनारायण आफ्नो पुर्ख्यौली गाउँ एकडारासँग जोडिएका थिए। उनले गाउँमा साप्ताहिक हाटबजार सञ्चालनका लागि जग्गा दान गर्नुका साथै स्थानीय मन्दिर मर्मतमा पनि सहयोग गरेका थिए।
आइतबार दुई दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री शाह सोमबार बेलुका स्वदेश फर्किएका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।