अन्तर्राष्ट्रिय

मूल निर्माताले नै खेल्न पाएका छैनन् ‘जीटीए ६’, प्रि-अर्डर कुर्दै

तेह्र वर्षको प्रतीक्षा, दुई पटकको मिति हेरफेर र विभिन्न सूचना चुहावटपछि सार्वजनिक हुन लागेको ‘ग्रान्ड थेफ्ट अटो ६’ (जीटीए ६) लाई विकासकर्ता रकस्टार गेम्सले अत्यन्त गोप्य राखेको छ।

झन्डै तीन दशकअघि गेमको परिकल्पना गर्ने मूल निर्माताहरूले समेत नयाँ संस्करण खेल्न पाएका छैनन्।

आगामी सन् २०२६ नोभेम्बर १९ मा पीएस ५ र एक्सबक्स सिरिज एक्स-एसमा सार्वजनिक हुने यो गेमको पर्खाइमा जीटीएका सह-निर्माता डेभ जोन्स र मूल गेमका लेखक तथा प्रचारक ब्रायन ब्याग्लो पनि आम गेमरसरह बसिरहेका छन्।

विज्ञापन

‘उनीहरूले कस्तो बनाएका छन् भनेर हेर्न हामी सबै आतुर छौं,’ जोन्सले भने। ब्याग्लोले पनि आफूले अग्रिम रूपमा गेम खेल्न नपाएको बताउँदै ‘प्रि-अर्डर’ गरिसकेको जानकारी दिए।

सार्वजनिक नहुँदै जीटीए ६ ले प्लेस्टेशन र एक्सबक्स दुवै डिजिटल स्टोरको इतिहासमा सर्वाधिक प्रि-अर्डर हुने गेमको कीर्तिमान बनाइसकेको छ।

करिब २१२ जीबी आकारको भएकाले धेरै गेमरले रिलिजकै दिन तुरुन्तै खेल्न ‘प्रि-लोड’ गर्ने उद्देश्यले अग्रिम बुकिङ गरेका हुन्। अघिल्ला संस्करणलाई आकार, दायरा र आम्दानी सबै पक्षमा उछिन्ने अपेक्षा गरिएको यो गेमको प्रचार लन्डनको सेल्फ्रिजेसमा ‘भाइस सिटी’ थिमको पप-अप र मियामीका बिलबोर्डहरूसम्म फैलिएको छ।

यसअघिका सिरिजभन्दा फरक जीटीए ६ मा कथा र पात्रलाई अझ यथार्थपरक बनाइएको छ। जीटीए ५ मा ट्रेभरजस्ता अराजक पात्र प्रमुख भए पनि नयाँ संस्करणमा मुख्य पात्र जेसन र लुसियालाई सङ्कटमा परेको युवा जोडीका रूपमा प्रस्तुत गरिएको छ। माइकल, फ्रेङ्कलिन, ट्रेभर वा निको बेलिकले जस्तो बिनाकारण विध्वंस मच्चाउनु उनीहरूको कथासँग मेल नखाने नेल्सनले बताए।

एक अन्तर्वार्तामा नेल्सनले जीटीए इतिहासमा पहिलो पटक खेलाडीलाई लियोनिडा सहरका नागरिकप्रति सहानुभूति देखाउन र सामान्य वा असल व्यक्ति बन्न प्रोत्साहित गर्ने संयन्त्र राखिएको उल्लेख गरे।

यद्यपि अराजकता रोज्ने खेलाडीका लागि पुरानै स्वतन्त्रता कायमै रहनेछ। हतियार देख्दा एनपीसी पात्रहरूले दिने प्रतिक्रिया र सजीव दृश्यका कारण यो अहिलेसम्मकै यथार्थपरक जीटीए हुने देखिएको छ। यसले प्रशंसकहरूलाई उत्साहित र केहीलाई सशङ्कितसमेत बनाएको छ।

आईजीएनकी लेखक ज्याकलिन थोमसले गेम ३० एफपीएसमै चले पनि हालै सार्वजनिक फुटेजको ग्राफिक्स अविश्वसनीय रहेको बताइन्।

‘द गार्जियन’ की भिडियो गेम सम्पादक केजा म्याकडोनाल्डले जीटीए ६ ले समग्र गेमिङ उद्योगलाई नै नयाँ ऊर्जा दिने र जोसुकैको चासो तान्ने दुर्लभ गेम भएको बताइन्।

सन् २०१३ मा आएको जीटीए ५ ले केवल तीन दिनमै १ अर्ब डलर कमाएर मनोरञ्जन क्षेत्रमै कीर्तिमान कायम गरेको थियो।

गेमिङ दुनियाँबाहिर पनि सांस्कृतिक पहिचान बनाएको जीटीएबारे जोन्सले फिल्महरूमा समेत डोन्ट गो अल जीटीए अन मी जस्ता संवाद सुन्दा अचम्म लाग्ने गरेको बताए।

ग्लासगोको गेमिङ क्याफे आरकेडमा म्याकडोनाल्डले पहिले जीटीए फिल्मबाट प्रभावित हुने गरे पनि अहिले फिल्महरू नै जीटीएबाट प्रभावित हुन थालेको टिप्पणी गरिन्।

जोन्सका अनुसार विज्ञान-कथा वा काल्पनिक दुनियाँ नभई वास्तविक सहर र सवारी चालकको जीवनमा आधारित भएकैले यो गेम यति लोकप्रिय भएको हो।

कसरी जन्मियो ‘जीटीए’ ?

झन्डै ३० वर्ष पुरानो यो सिरिजको सुरुवात सन् १९९७ मा स्कटल्यान्डको डन्डीस्थित सानो स्टुडियो डीएमए डिजाइनबाट भएको थियो।

पजल गेम लेमिङ्सको सफलतापछि स्टुडियोले रेस एन्ड चेस नामक रेसिङ गेम बनाउने सोच बनाएको थियो। डन्डीको एबर्टे विश्वविद्यालयको कम्प्युटर ल्याबमा जोन्सले गाडी चलाउनुका साथै गाडीबाट बाहिर निस्कन पाउने, पैदल दौडिने र अरूको गाडी चोर्न मिल्ने नयाँ प्रयोगले गेमलाई रोचक बनाएको बताए।

सुरुमा अपराधी र प्रहरी दुवै भूमिकामा खेल्न मिल्ने परिकल्पना गरिए पनि प्रहरी बन्दा नियमकानुनअनुसार चल्नुपर्ने भएकाले रमाइलो नहुने निष्कर्ष निकाल्दै खराब पात्रमा गेम केन्द्रित गरिएको जोन्सले बताए।

लेमिङ्सको तुलनामा सुरुमा बिक्री सुस्त भए पनि खेलेपछि मात्र बुझिने विशेषता र आपसी चर्चाका कारण वर्षभरि गेम बिक्री भएको ब्याग्लोले स्मरण गरे।

अपराध र हिंसाको विषयले बेलायती संसद्‌मा बहस र प्रतिबन्धको मागसमेत निम्त्याएको थियो। पछि प्रकाशक बीएमजी इन्टरएक्टिभले भाइरल मार्केटिङका लागि ती विवाद उचालेको खुले पनि जोन्सले आफूहरूले विवादको चिन्ता नगरी रमाइलोका लागि मात्रै काम गरेको बताए।

सामान्य टु-डी र आर्केड शैलीको भए पनि पहिलो गेमले नै अमेरिकी पुँजीवाद र अति-व्यक्तिवादमाथि व्यङ्ग्य गर्ने जीटीएको आधार तयार पारेको म्याकडोनाल्डले बताइन्। अमेरिकी सहरको परिवेश भए पनि यसमा स्कटिस हास्यचेत झल्किएको उनको भनाइ छ।

कम बजेट र वास्तविक ब्रान्डको लाइसेन्स खर्च जुटाउन नसक्दा टोलीले नक्कली ब्रान्ड, काल्पनिक रेडियो स्टेसन, गीत र डीजेहरू सिर्जना गरेको थियो। ब्याग्लोले ती काल्पनिक तत्त्वहरूले नै जीटीएको संसारलाई एकीकृत र जीवन्त बनाएकोमा गर्व महसुस हुने बताए।

विश्वभर जीटीए ६ को यति ठूलो चर्चा भइरहँदा के मूल निर्माताहरूलाई अझै यसैमा काम गरिरहन मन लाग्छ ? जोन्सले एक-दुई वा तीन संस्करणसम्म काम गरेपछि मानिसले अरू नै नयाँ काम गर्न चाहने बताए।

ब्याग्लोले भने विगत २९ वर्षदेखि विश्वभरका मानिसले यो गेमलाई माया गरेको देख्नु नै आफ्ना लागि अत्यन्त खुसीको विषय भएको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।