भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। मन्त्रालयले सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी सोही पालिकामै बसेपछि खाता रोक्का गरेको हो।
मन्त्रालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिकामा कार्यरत कर्मचारीको अन्यत्र सरुवा गरिएको थियो। तर, उनी सरुवा भएको निकायमा हाजिर नगरी सोही पालिकामा कार्यरत रहँदै आएका थिए। यसैबीच, नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत पालिकाले हाजिर गराएको थिएन।
सरुवा भएर पनि साविककै कार्यालयमा कार्यरत रहेको तथा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएको विषयमा मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरेको हो।

मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ।
मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउँदै खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउनसमेत मन्त्रालयले आग्रह गरेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।