प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले मकवानपुरको भीमफेदी दुर्घटनामा आफन्त गुमाएका परिवारलाई राहत उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर पुगेर पीडित परिवारसँग भेट गर्दै उनले यस्तो बताएका हुन्।
भेटमा सभामुख अर्यालले शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै समवेदना व्यक्त गरे। उनले आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक कदम चालिनेसमेत बताए।

सो अवसरमा पीडित परिवारका सदस्यहरूले दुर्घटनापछिको अवस्था, आफूहरूले भोग्नुपरेका समस्या तथा राहत र पुन:स्थापनाका विषयमा सभामुखसमक्ष आफ्ना कुरा राखेका थिए।
सभामुख अर्यालसँगै सर्लाही निर्वाचन क्षेत्र नम्बर-१ की प्रतिनिधिसभा सदस्य नितिमा कार्की, क्षेत्र नम्बर-२ का सांसद रविन महतो, क्षेत्र नम्बर-३ का सांसद नरेन्द्र साह कलवार र पर्साबाट निर्वाचित सांसद रहबर अन्सारी सुन्दरपुर पुगेका थिए। भ्रमणमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदी पनि सहभागी थिए।
गत २६ कात्तिकमा छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही आउँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा एउटै टोलका १३ जनासहित १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
मृतकमध्ये १३ जना चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरकै स्थानीय थिए। एउटै टोलका धेरै जनाको एकैपटक मृत्यु भएपछि सुन्दरपुर अझै शोकमा डुबेको छ भने कैयौँ परिवारले आफ्ना सदस्य गुमाएका छन्।
कात्तिक २८ गते पर्सा र बारा जिल्लाको भ्रमण तथा छठ पर्व मनाउन मधेश आएका सभामुख अर्याल सोमबार सुन्दरपुर पुगेका हुन्। यसअघि आइतबार नेपाली कांग्रेसका सभापति गगन थापा पनि दुर्घटनामा ज्यान गुमाएका परिवारलाई भेट्न सुन्दरपुर पुगेका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।