प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मङ्सिर ६ गते अर्थात् २२ नोभेम्बरदेखि प्रस्तावित भारत भ्रमणले राजकीय यात्राको समयसम्बन्धी एउटा विचारणीय प्रश्न उठाएको छ। हाम्रो समाजमा विवाह, व्रतबन्ध, गृहप्रवेश तथा देवप्रतिष्ठाजस्ता शुभकार्यमा मुहूर्त विचार गर्ने परम्परा छ।
तर राष्ट्रको प्रतिनिधित्व गर्दै गरिने महत्त्वपूर्ण विदेशयात्रामा तिथि, बार, नक्षत्र, योग, चन्द्रबल र प्रस्थानलग्नको विचार कत्तिको गरिन्छ? प्राचीन ज्योतिषग्रन्थहरूको अध्ययन गर्दा राजकीय यात्रालाई विशेष महत्त्व दिइएको पाइन्छ।
भद्रबाहुसंहिता, बृहत्संहिता, मुहूर्तचिन्तामणि तथा मुहूर्तमार्तण्डजस्ता ग्रन्थमा राजकीय यात्राको विस्तृत विवेचन छ। ती ग्रन्थमा प्रयुक्त ‘राजा’ शब्द तत्कालीन शासनप्रमुखका लागि हो। आजको लोकतान्त्रिक व्यवस्थामा त्यसलाई सरकारप्रमुख तथा राष्ट्रको प्रतिनिधित्व गर्ने उच्चपदस्थ पदाधिकारीहरूको राजकीय जिम्मेवारीसँग सान्दर्भिक रूपमा जोडेर बुझ्न सकिन्छ।

राजयात्रामा भद्रबाहुको दृष्टिकोण
भद्रबाहुसंहिताको तेह्रौँ अध्यायमा राजकीय यात्रासम्बन्धी १८६ श्लोक सङ्कलित छन्। अध्यायको आरम्भमै शासकको विनय, विवेक, कृतज्ञता तथा आचरणलाई महत्त्व दिइएको छ। पाँचौँ श्लोकमा भनिएको छ:
राज्ञा बहुश्रुतेनापि प्रष्टव्या ज्ञाननिश्चिताः।
अहङ्कारं परित्यज्य तेभ्यो गृह्णीत निश्चयम्॥
(भद्रबाहुसंहिता, १३।५)
अर्थात् राजा धेरै ज्ञानी भए पनि अहङ्कार त्यागेर विषयका ज्ञाताहरूसँग परामर्श गरी निर्णय लिनुपर्छ। यो उपदेश आजका शासनप्रमुखहरूका लागि पनि उत्तिकै विचारणीय छ।
त्यसपछिको श्लोकमा ग्रह, नक्षत्र, तिथि, मुहूर्त, करण तथा शुभाशुभ निमित्त विचार गर्ने उल्लेख छ। यद्यपि यस्ता परम्परागत मान्यतालाई निश्चित भविष्यवाणीका वैज्ञानिक प्रमाणका रूपमा लिन मिल्दैन। यस ग्रन्थको विशेषता के हो भने यसले यात्राको सफलतालाई ग्रहस्थितिमा मात्र सीमित नराखी शासकको आचरण, योग्य सल्लाहकार, विवेक र अनुशासनलाई पनि महत्त्व दिएको छ।
मुहूर्तचिन्तामणिमा यात्राको विशेष स्थान
रामदैवज्ञकृत मुहूर्तचिन्तामणिको एघारौँ प्रकरण यात्रासम्बन्धी छ। यसमा जन्मराशि, जन्मलग्न, ताराबल, तिथि, नक्षत्र, दिशाशूल तथा यात्रालग्नको सूक्ष्म विवेचन पाइन्छ। दोस्रो श्लोकमा भनिएको छ—
जननराशितनू यदि लग्नगे तदधिपौ यदि वा तत एव वा।
त्रिरिपुखायगृहं यदि वोदयो विजय एव भवेद्वसुधापतेः॥
(मुहूर्तचिन्तामणि, यात्राप्रकरण ११।२)
यसमा जन्मराशि, जन्मलग्न, तिनका स्वामी तथा यात्रालग्नको पारस्परिक सम्बन्धलाई महत्त्व दिइएको छ। यसबाट यात्राको मुहूर्त केवल पात्रोमा शुभ दिन खोज्ने विषय नभई सम्बन्धित व्यक्तिको जन्मस्थिति र प्रस्थानकालीन ग्रहस्थितिसमेत विचार गरिने प्रक्रिया रहेको बुझिन्छ।
वराहमिहिरकृत बृहत्संहिताको शाकुनाध्यायमा पनि पूर्वाचार्यका यात्रासम्बन्धी मत सङ्कलित छन्। मुहूर्तमार्तण्डमा यात्राकाल, तिथि, नक्षत्र तथा दिशाशूलको विवेचन छ।
प्रस्तावित भारत भ्रमणको पञ्चाङ्गीय पक्ष
प्रधानमन्त्रीको भारत भ्रमण प्रारम्भ हुने भनिएको मङ्सिर ६ गते आइतबारको पञ्चाङ्ग अध्ययन गर्दा शुभ र विचारणीय दुवै अवस्था देखिन्छन्।
प्रचलित पञ्चाङ्ग तथा दृक्गणितीय पञ्चाङ्गअनुसार त्यस दिन शुक्ल त्रयोदशी तिथि, अश्विनी नक्षत्र र व्यतीपात योग रहेका छन्। परम्परागत यात्राशास्त्रमा त्रयोदशीलाई ग्राह्य र अश्विनीलाई प्रशस्त यात्रानक्षत्र मानिन्छ। अश्विनीलाई विभिन्न दिशाको यात्राका लागि अनुकूल मान्ने विधानसमेत पाइन्छ।
त्यस दिन आइतबार र अश्विनी नक्षत्रको संयोगबाट सर्वार्थसिद्धि योग पनि बनेको छ। परम्परागत ज्योतिषमा यसलाई कार्यसिद्धिका दृष्टिले शुभ मानिन्छ। यसरी शुभ तिथि, प्रशस्त यात्रानक्षत्र र सर्वार्थसिद्धि योगको संयोग प्रस्तावित यात्राको अनुकूल पक्ष हो।
चन्द्रमा मेष राशिमा र बृहस्पति सिंह राशिमा रहने भएकाले पराशरी दृष्टिविधानअनुसार मेषस्थ चन्द्रमामा बृहस्पतिको नवम दृष्टि पर्छ। शुभग्रह बृहस्पतिको यस्तो दृष्टिलाई सकारात्मक मानिन्छ। त्यसैगरी शुक्ल त्रयोदशी भएकाले पूर्णिमाको समीप पुगेको चन्द्रमा पक्षबलले सम्पन्न हुन्छ।
तर त्यही दिन राति करिब ११:४५ बजेसम्म व्यतीपात योग पनि रहने देखिन्छ। मुहूर्तचिन्तामणिलगायतका ग्रन्थमा व्यतीपातलाई शुभकार्यका लागि वर्जनीय मानिएको छ। यद्यपि एउटा योगका आधारमा मात्रै सम्पूर्ण मुहूर्तको निर्णय गर्नु उचित हुँदैन। चन्द्रमाको शुभत्व, सर्वार्थसिद्धि योग र व्यतीपातको परस्पर सम्बन्ध तथा सम्भावित दोषपरिहारलाई पनि शास्त्रीय आधारमा विचार गर्नुपर्छ।
यात्रादिशा, चन्द्रवास र जन्मराशि
यात्रामुहूर्तको अर्को महत्त्वपूर्ण पक्ष चन्द्रवास हो। परम्परागत ज्योतिषमा मेष, सिंह र धनु राशिमा रहेको चन्द्रमाको वास पूर्वदिशामा मानिन्छ। यात्राका बेला सम्मुख वा दाहिने चन्द्र अनुकूल तथा देब्रे वा पृष्ठस्थ चन्द्र प्रतिकूल मान्ने विधान छ।
काठमाडौँको तुलनामा नयाँदिल्ली मुख्यतः पश्चिमतर्फ पर्ने भएकाले यस यात्राको दिशागत विचारमा चन्द्रमा पृष्ठस्थ हुन्छ। आइतबारको पश्चिम दिशाशूल पनि विचारणीय छ।
प्रधानमन्त्री बालेन्द्र शाहको प्रचलित जन्मविवरणमा उल्लेख भएको वृष जन्मराशि र रोहिणी जन्मनक्षत्रलाई आधार मान्दा प्रस्तावित दिन मेषस्थ चन्द्रमा उहाँको जन्मराशिबाट बाह्रौँ अर्थात् व्ययस्थानमा पर्छ। नेपालको परम्परागत वृश्चिक राष्ट्रराशिलाई आधार मान्दा भने छैटौँ स्थानमा रहन्छ। षष्ठ चन्द्र सामान्यतः प्रतिकूल मानिँदैन भने द्वादश चन्द्रलाई विशेष अनुकूल मान्ने चलन छैन।
यद्यपि द्वादश चन्द्रलाई अष्टम चन्द्रसमान गम्भीर दोष मान्नु उचित हुँदैन। त्यस दिन चन्द्रमा शुक्लपक्षको बलले सम्पन्न हुनुका साथै बृहस्पतिको शुभदृष्टिबाट प्रभावित छ। मुहूर्तशास्त्रमा शुभग्रहको सम्बन्ध र पक्षबललाई दोषविचारमा महत्त्व दिइन्छ। अतः द्वादश स्थानमा रहेकै कारण चन्द्रमालाई पूर्णतः अशुभ ठहर गर्नु शास्त्रीय दृष्टिले उचित हुँदैन।
प्रस्तावित यात्राको मुहूर्त शुभ कि अशुभ?
प्रस्तावित यात्रामा शुक्ल त्रयोदशी, प्रशस्त अश्विनी नक्षत्र, सर्वार्थसिद्धि योग, चन्द्रमाको पक्षबल तथा बृहस्पतिको शुभदृष्टिजस्ता अनुकूल पक्ष छन्। अर्कोतर्फ व्यतीपात, पश्चिम यात्रामा पृष्ठस्थ चन्द्रमा, दिशाशूल तथा जन्मराशिबाट द्वादश चन्द्र विचारणीय छन्।
मुहूर्तशास्त्रमा शुभ र अशुभ योगहरूको समग्र बलाबल तथा दोषपरिहार विचार गरेर निर्णय गरिन्छ। त्यसैले केही दोष देखिएकै कारण प्रस्तावित दिनलाई सर्वथा अशुभ भन्न मिल्दैन। त्यस्तै सर्वार्थसिद्धि योग रहेकै आधारमा सम्पूर्ण दोष स्वतः निवारण भएको मान्न पनि सकिँदैन।
विशेषतः प्रधानमन्त्रीको वास्तविक प्रस्थानसमय सार्वजनिक नभएकाले प्रस्थानलग्न, लग्नेश, नवमांश तथा होराको अहिले नै निर्णय गर्न सकिँदैन। तसर्थ यो प्रस्तावित दिनको पञ्चाङ्गीय मूल्याङ्कन मात्र हो, पूर्ण प्रस्थानमुहूर्तको अन्तिम निर्णय होइन। यस्ता ज्योतिषीय मान्यताले भ्रमणको वास्तविक परिणाम निश्चित गर्दैनन्।
परम्परागत कालविचार र प्रस्थानमुहूर्त
प्रधानमन्त्री शाहको शपथग्रहणमा पनि परम्परागत कालविचारलाई स्थान दिइएको थियो। २०८२ चैत १३ गते रामनवमीका अवसरमा उहाँले पूर्वनिर्धारित मध्याह्न १२:३४ बजेको साइतमा शपथ लिनुभएको थियो। त्यस अवसरमा शङ्खनाद, वैदिक स्वस्तिवाचन र बौद्ध मङ्गलपाठसमेत गरिएको थियो। आगामी भारत भ्रमणको समय निर्धारणमा पनि त्यस्तो विचार गरिएको हुन सक्छ, तर त्यसबारे सार्वजनिक पुष्टि उपलब्ध छैन।
अन्तर्राष्ट्रिय कूटनीतिक सहमतिका आधारमा निर्धारित भ्रमणको मिति परिवर्तन गर्न सहज हुँदैन। तर निश्चित दिनभित्रै सम्भव भएसम्म अनुकूल प्रस्थानलग्न, नवमांश र शुभग्रहको होरा विचार गर्न सकिन्छ।
मुहूर्तचिन्तामणिको यात्राप्रकरणमा दिग्द्वार लग्नको विशेष महत्त्व बताइएको छ। यात्राको दिशाअनुकूल राशि लग्नमा हुँदा प्रशस्त मानिन्छ। अभिजित् मुहूर्त सामान्यतः शुभ मानिए पनि अन्य त्याज्य कालखण्डसँग यसको सम्बन्ध परीक्षण गर्नुपर्छ। निर्धारित दिनको अधिकांश समय व्यतीपात रहेकाले त्यसको शास्त्रीय परिहारसमेत विचारणीय हुन्छ।
छल्न नसकिने अवस्थालाई स्वीकार गर्दै छल्न सकिने दोषहरू सकेसम्म छल्ने प्रयत्न गर्नु नै सूक्ष्म मुहूर्तविचारको उद्देश्य हो। यद्यपि वास्तविक प्रस्थानसमय उपलब्ध नभएसम्म कुनै निश्चित लग्न वा होरालाई सर्वोत्तम घोषणा गर्नु उचित हुँदैन।
ऋषिपरम्परा र राष्ट्रिय उत्तरदायित्व
वैदिक परम्परामा ज्योतिषलाई वेदाङ्गमध्ये एक तथा वेदको नेत्र मानिएको छ। कालगणना र यज्ञादि कर्मको समयनिर्धारणमा यसको महत्त्वपूर्ण भूमिका छ। यही परम्पराको विकासक्रममा मुहूर्तशास्त्रले यात्रा, राज्याभिषेक, प्रतिष्ठा तथा अन्य महत्त्वपूर्ण कार्यका लागि उपयुक्त समयको विवेचन गरेको पाइन्छ।
नेपाल समृद्ध धार्मिक–सांस्कृतिक तथा ऋषिपरम्परा भएको देश हो। पूर्वाचार्यहरूले प्रतिपादन गरेका कालगणना र मुहूर्तसम्बन्धी विचारलाई अध्ययन नै नगरी उपेक्षा गर्नु उचित हुँदैन। राजकीय विदेशयात्राका अतिरिक्त राष्ट्रिय आयोजनाको शुभारम्भ, उद्घाटन, महत्त्वपूर्ण नियुक्ति, पदभार ग्रहण तथा शपथग्रहणजस्ता अवसरमा पनि सम्भव भएसम्म शास्त्रीय मुहूर्तविचारलाई स्थान दिन सकिन्छ।
नेपालले विगतमा अनेक राजनीतिक उतारचढाव र अस्थिरता भोगेको छ। वर्तमानमा पनि सुशासन, विकास र राष्ट्रिय हितका चुनौती छन्। तिनको समाधान मुहूर्तले मात्र गर्ने होइन। उचित नीति, सक्षम नेतृत्व, पारदर्शिता र जिम्मेवार निर्णय आवश्यक हुन्छन्। तर संवैधानिक दायित्व, कानुनी प्रक्रिया, कूटनीतिक तयारी तथा जनहितसँग नबाझिने गरी परम्परागत समयविचारलाई पनि सम्मान गर्न सकिन्छ।
राजकीय विदेशयात्राको सार्थकता देश र जनताका लागि प्राप्त हुने कूटनीतिक, आर्थिक तथा दीर्घकालीन उपलब्धिसँग जोडिएको हुन्छ।शास्त्रीय परम्पराको सम्मान, समयको उपयुक्तता, विवेकपूर्ण निर्णय र राष्ट्रिय उत्तरदायित्वबीच सन्तुलन कायम गर्नु नै आजको आवश्यकता हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।