अर्थतन्त्र

दुधको मूल्य बढाउन किसानको अल्टिमेटम

खैरहनी नगरपालिका-६ का श्याम रैलाको गोठमा अहिले १० वटा गाई र चार वटा भैंसी छन्।

दैनिक करिब ६५ लिटर दुध उत्पादन हुन्छ। बिहानदेखि साँझसम्म गाईभैंसीको स्याहारसुसार दाना खुवाउने र दुध दुहुने काममा उनको समय बित्छ तर यति मेहनत गरेर उत्पादन गरेको दुध बिक्री गर्दा पनि लागत उठाउन मुस्किल छ।

‘दाना, चोकर, पिठो सबैको मूल्य बढेको छ तर दुधको मूल्य बढेको छैन’, आफ्नो पीडा सुनाउँदै रैलाले भने, ‘उत्पादन लागत बढ्दै जाँदा दूधको मूल्य पनि बढ्नुपर्ने हो बढेको छैन।’ दुध उत्पादनका लागि आवश्यक दाना, चोकर, मकै र अन्य पशु आहारको मूल्य निरन्तर बढिरहेको छ। किसानले पाउने दुधको मूल्य भने वर्षौंदेखि उही रहेको उनले बताए। ‘दुई वर्षअघि प्रतिकिलो ३० रुपैयाँ पर्ने ढुटोको मूल्य अहिले ४५ रुपैयाँ पुगेको छ’, उनले भने तीन दिनमै ५० किलोसम्म दाना चोकर खपत हुन्छ।’

विज्ञापन

रैलाको समस्या चितवनका व्यावसायिक दुग्ध उत्पादक किसानको साझा समस्या बनेको छ। रत्ननगर नगरपालिका-१६ का युवराज थापाले पनि २० वटा गाई पालेका छन्। उनको फार्मबाट दैनिक करिब ३०० लिटर दूध उत्पादन हुन्छ। ठूलो परिमाणमा दूध उत्पादन गरे पनि बढ्दो लागतका कारण व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको उनले बताए।

उनका अनुसार तीन महिनाअघि एक हजार ८०० रुपैयाँ पर्ने दाना चोकरको मूल्य अहिले २ हजार २०० रुपैयाँ पुगेको छ। पशुलाई खुवाउने दानाको मूल्य बढ्दै गएको भए पनि दूधको मूल्यमा भने दुई वर्षदेखि कुनै परिवर्तन भएको छैन। थापाले अहिले प्रतिलिटर ६० देखि ६३ रुपैयाँसम्ममा गाईको दूध बिक्री गर्दै आएका छन्। ‘दाना चोकरको मूल्य कहिल्यै घट्दैन तर हाम्रो दूधको मूल्य बढ्दैन,’ उनले भने, ‘कम्तीमा ७५ रुपैयाँ प्रतिलिटर भयो भने उत्पादन लागत उठाउन सकिन्थ्यो।’

रैला र थापाजस्ता किसानले भोगिरहेको समस्या व्यक्तिगत फार्मको मात्र होइन। चितवनको समग्र दुग्ध उत्पादन क्षेत्र नै बढ्दो उत्पादन लागत र स्थिर दूधको मूल्यका कारण दबाबमा परेको छ। दुध उत्पादनमा किसानको लगानी बढ्दै गए पनि त्यसअनुसार आम्दानी नबढ्दा पशुपालन व्यवसाय टिकाउन कठिन हुँदै गएको उनले बताए ।

यही समस्यालाई लिएर चितवनका दुग्ध उत्पादक किसानले अब सरकारलाई आन्दोलनको चेतावनी दिएका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न माग गरेको छ। एक साताभित्र माग सम्बोधन नभए सडक आन्दोलनमा उत्रिने संघले जनाएको छ।

संघका अनुसार चार वर्षदेखि किसानले पाउने दुधको मूल्यमा पुनरावलोकन हुन सकेको छैन। २०७९ सालमा निर्धारण गरिएको मूल्य नै अहिलेसम्म कायम छ। राष्ट्रिय दुग्ध विकास नीति-२०७८ मा प्रत्येक दुई वर्षमा दुधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था भए पनि सरकारले त्यसलाई कार्यान्वयन नगरेको संघको गुनासो छ।

संघका सचिव कल्याण अधिकारीका अनुसार दुधको मूल्य बढाउन माग गर्दै दसैंअघि नै कृषि तथा पशुपन्छी विकास मन्त्रालयदेखि संघीय संसद्को कृषि समितिसम्म मागपत्र बुझाइएको थियो तर अहिलेसम्म माग सम्बोधन हुन सकेको छैन। ‘चार वर्षसम्म दुधको मूल्य बढेको छैन। किसानले उत्पादन लागतसमेत उठाउन नसक्ने अवस्था छ। किसानको पीडालाई अवमूल्यन गरिए सडक आन्दोलन गर्न‘पर्ने बाध्यात्मक अवस्था आउँछ’, चेतावनी दिँदै अधिकारीले भने ।

संघका अध्यक्ष किशोर बगालेका अनुसार चार वर्षअघि चिल्लो पदार्थ (फ्याट) चार र एसएनएफ आठ भएको दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ निर्धारण गरिएको थियो। यही मूल्य नै किसानले पाउने अधिकतम मूल्य हो। दुधमा फ्याट र एसएनएफको मात्रा कम भए किसानले योभन्दा कम मूल्य पाउने गरेका छन्।

बगालेका अनुसार अहिले दुध उत्पादनको लागत नै प्रतिलिटर ६० रुपैयाँभन्दा बढी पुगेको छ। पशु आहारका रूपमा प्रयोग हुने मकै, ढुटो र दाना चोकरको मूल्यमा भएको वृद्धिले किसानलाई थप आर्थिक भार परेको छ। चार वर्षअघि प्रतिकिलो २५ रुपैयाँ पर्ने मकैको मूल्य अहिले ५५ रुपैयाँ पुगेको छ। त्यस्तै प्रतिकिलो ३० रुपैयाँ पर्ने ढुटोको मूल्य बढेर ४५ रुपैयाँ पुगेको छ।

दुधको मूल्य पुनरावलोकनका लागि राष्ट्रिय दुग्ध विकास बोर्डले तत्काल प्रक्रिया अघि बढाउनुपर्ने किसानको माग छ। बोर्डले गरेको अध्ययनका आधारमा सरकारले दुधको मूल्य निर्धारण गर्न सक्ने भए पनि सिफारिस प्रक्रियामा ढिलाइ भएको बगालेको आरोप छ। चितवनमा दैनिक तीन लाख ५५ हजार लिटर दुध उत्पादन हुने गरेको छ। जिल्लामा ११७ वटा दुग्ध उत्पादक सहकारी संस्था छन्। करिब ४० हजार किसान दुध उत्पादनमा संलग्न छन्।

यहाँबाट उत्पादन हुने कुल दुधमध्ये करिब ५५ प्रतिशत काठमाडौं उपत्यकासहित मकवानपुर र कास्कीसम्म खपत हुने गरेको छ। विगतमा किसानले उत्पादन गरेको दुध बिक्री गर्न र बिक्री भएको दुधको भुक्तानी पाउनसमेत समस्या भोग्नुपथ्र्यो। अहिले भने दुध बिक्री गर्न र भुक्तानी लिन त्यति ठूलो समस्या नरहेको संघको भनाइ छ तर बजार सुनिश्चित हुँदाहुँदै पनि उचित मूल्य नपाउँदा किसान निराश छन्।

चितवनका किसानले एक साताको समयसीमा दिएर सरकारलाई दूधको मूल्य पुनरावलोकन गर्न आग्रह गरेका छन्। माग सम्बोधन नभए सडक आन्दोलनमा जाने उनीहरूको तयारी गरेको उनले बताए। उनका अनुसार, दुध पोख्नेदेखि गोबर मल सडकमा फाल्नेसम्मको चेतावनी किसानले दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।