सदरमुकाम गाईघाटस्थित त्रियुगा माध्यमिक विद्यालयको प्राङ्गणमा बुधबारदेखि तीनदिने निःशुल्क आँखा जाँच शिविर सुरु भएको छ।
त्रियुगा नगरपालिकाको आयोजना र सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा सुरु भएको शिविरको पहिलो दिन २०० भन्दा बढीले आँखा जाँच गराएका छन्।
अस्पतालका प्राविधिक वीरेन्द्र साहका अनुसार शिविर आगामी मंसिर ४ गते शुक्रबारसम्म बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। परीक्षणका क्रममा आँखामा समस्या देखिएमा त्यस्ता बिरामीको थप उपचारसमेत निःशुल्क गरिने नगरपालिकाले जनाएको छ।

नगरप्रमुख बसन्त बस्नेतले विशेषगरी मोतियाविन्दुका बिरामीलाई सगरमाथा चौधरी आँखा अस्पताल लाहानमा निःशुल्क शल्यक्रियासम्मको व्यवस्था नगरपालिकाले मिलाउने बताए।
त्रियुगा माविका विद्यार्थी, अभिभावक र शिक्षक-शिक्षिकालाई लक्षित गरी शिविर आयोजना गरिएको भए पनि अन्य जोकोही सर्वसाधारणका लागि समेत जाँच र उपचार सेवा खुला गरिएको उनले जानकारी दिए।
विद्यालयका प्रधानाध्यापक सुभाष विष्टका अनुसार शिविरमा आँखाको समस्या देखिएका विद्यार्थी तथा अभिभावकलाई निःशुल्क चस्मासमेत वितरण गर्ने व्यवस्था मिलाइएको छ।
पहिलो दिन २०० भन्दा बढी विद्यार्थी, अभिभावक, शिक्षक-शिक्षिका र स्थानीयवासीले जाँच गराएको र बाँकीलाई दोस्रो र तेस्रो दिन जाँच गरिने उनले बताए।
प्रधानाध्यापक विष्टका अनुसार त्रियुगा माविमा शिशु तहदेखि कक्षा १२ सम्म ३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।