खेलकुद

काठमाडौं गोर्खाजलाई ‘प्लेअफ १’ खेल्न कठिन

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ धराशायी भएपछि काठमाडौं गोर्खाजका लागि शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना कठिन बनेको छ।

२२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौंले १७ ओभरको समाप्तिमा ८ विकेट गुमाएर केवल १४१ रन मात्र जोडेको छ।

अङ्कतालिकामा ६ खेलबाट ८ अङ्क र ०.८८२ को बलियो नेट रनरेटसहित तेस्रो स्थानमा रहेको काठमाडौंलाई शीर्ष दुईमा उक्लिन आजको खेल जित्नैपर्ने दबाब थियो।

विज्ञापन

तालिकाको शीर्ष स्थानमा लुम्बिनी लायन्स र दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्स रहेका छन्। पोखराविरुद्ध जित निकालेको भए काठमाडौंले १० अङ्क पुर्‍याउँदै उत्कृष्ट नेट रनरेटका आधारमा सुदूरपश्चिमलाई पछि पारेर प्लेअफ १ मा स्थान बनाउने अवसर थियो।

तर अब काठमाडौंलाई जितका लागि बाँकी १८ बलमा ८४ रन आवश्यक छ। जसका लागि प्रतिओभर २८.०० को कठिन रनरेट चाहिन्छ। पछिल्लो ५ ओभरमा ४८ रन जोड्दा ४ महत्त्वपूर्ण विकेट गुमाएपछि काठमाडौं दबाबमा परेको हो।

आज पराजित भएमा काठमाडौं ८ अङ्कमै सीमित भई तेस्रो स्थानमा रहनेछ र चौथो स्थानको चितवन राइनोजसँग प्लेअफको अर्को समीकरण खेल्नुपर्नेछ। उता, ६ खेलबाट २ अङ्कसहित पुछारमा रहेको पोखराका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हो।

काठमाडौँका लागि ओपनर तथा विकेटकिपर साहिल पटेलले ३४, रशिद खानले ३१, विलियम बोसिस्टोले २६ र जहान्दाद खानले २४ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्।

भीम सार्की ८ र सहन अरच्चिगे १ रनमा आउट भए भने कप्तान करण केसी र सन्तोष यादव शून्य रनमै पभेलियन फर्किए। ताजा अवस्थामा सोनु देवकोटा ३ र सुमित महर्जन १ रनमा अविजित छन् भने गणेश गौतम आउन बाँकी छ।

काठमाडौंको ब्याटिङ क्रम ध्वस्त पार्न पोखराका दिनेश खरेलले सर्वाधिक ४ विकेट लिएका छन्। उनले साहिल पटेल, विलियम बोसिस्टो, सहन अरच्चिगे र कप्तान करण केसीलाई आउट गरेका हुन्।

यस्तै, विपिन खत्रीले भीम सार्की, रशिद खान र सन्तोष यादवसहित ३ विकेट लिए भने रमेश मेन्डिसले जहान्दाद खानको १ विकेट हात पारे। फिल्डिङमा कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले ४ क्याच लिएका छन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले कुशल भुर्तेलको ९९ र युवराज सम्राको ८९ रनको मद्दतले २० ओभरमा ३ विकेट गुमाएर २२४ रनको विशाल योगफल बनाएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।