इलाम–झापा फास्ट ट्र्याक (केचना–कञ्चनजंघा सडक) को बेलासे–रक्से–गोलाखर्क खण्डको ठेक्का तोड्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ। उच्च अदालत पाटनले ठेक्का तोड्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय मुद्दाको फैसला नभएसम्म कार्यान्वयन नगर्न आदेश दिएको हो।
न्यायाधीशद्वय श्रीधरकुमारी पुडासैनी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। इलामस्थित डिभिजन सडक कार्यालयले गत कात्तिक १२ गते ठेक्का तोड्ने सूचना प्रकाशित गरेपछि निर्माण कम्पनी खड्का–कृष्ण सक्षम जेभीले त्यसविरुद्ध अदालतमा रिट दायर गरेको थियो। निर्माण कम्पनीको निवेदनमा सोमबार सुनुवाइ गर्दै अदालतले ठेक्का तोड्ने निर्णय तथा धरौटी जफत गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्न गरेको सिफारिस मुद्दाको फैसला नभएसम्म कार्यान्वयन नगर्न भनेको हो।
साढे नौ किलोमिटर लामो उक्त सडकमा कालोपत्रेसम्मको काम गर्न २०७८ असार २९ गते दुई वर्ष अवधिको ठेक्का लागेको थियो। २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा ठेक्का लागेको उक्त सडकको काम २०८३ सालको कात्तिकसम्म आइपुग्दा ४५.२८ प्रतिशत मात्रै भएको थियो। पटक–पटक म्याद थप्दा र लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माण कम्पनीले आफ्नो प्रतिबद्धताअनुसार काम गर्न नसकेको भन्दै डिभिजनले ठेक्का रद्द गरेको थियो।

डिभिजनका अनुसार प्रारम्भिक रूपमा ३० महिनामा सक्नुपर्ने कामका लागि ३३ महिना म्याद थप गरी कुल ६३ महिनाको समय दिइएको थियो। ठेक्का तोडिएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले तुरुन्तै नयाँ ठेक्का प्रक्रियामा जाने प्रतिबद्धता जनाएका थिए। गत असारमा इलाम आएका मन्त्री लम्सालले यस खण्डको ठेक्का तोड्न निर्देशन दिएका थिए। उनको निर्देशनअनुसार सडक डिभिजनले सडक विभागमा फाइलसमेत पठाएको थियो।
तर, निर्माण व्यवसायीले वर्षौँसम्म काम अलपत्र राखेपछि पनि चाँडै काम सक्ने लिखित प्रतिबद्धता गरेकाले डिभिजनले असोज मसान्तसम्मको म्याद राखेर ‘अन्तिम मौका’ दिएको थियो।
निर्माण व्यवसायीको प्रतिबद्धताअनुसार २० दिनमा सडक हिलोरहित बनाउने र असोज मसान्तसम्म कालोपत्रे गर्ने योजना थियो। तर, थपिएको पूरा अवधिमा पनि सामान्य हिलो पुर्नेबाहेक सडकको अरू काम भएको छैन। मेची राजमार्गको राजदुवाली खण्ड पहिरोका कारण वर्षायाममा प्रायः बन्द हुने, अन्य विकल्पसमेत नभएको र विकल्पका रूपमा रहेको यही सडक पनि निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र हुँदा इलाम, पाँचथर र ताप्लेजुङवासीले चरम समस्या भोगिरहेका छन्।
तस्बिर : निर्माणाधीन केचना–कञ्चनजंघा सडकको बेलासे–रक्से–गोलाखर्क खण्ड।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।