भाइटीकाको दिन आज सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि तीनवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।
सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
निःशुल्क बस सेवा आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

काठमाडौं उपत्यकामा सञ्चालन गरिने बसमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा प्रदान गर्नेछ ।
यसैगरी, प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानका यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।
यस्तै, प्रधान कार्यालय स्वयम्भूबाट भक्तपुरसम्म सञ्चालन हुने बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्म सेवा दिनेछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।