राजनीति

आगामी चुनावहरू पपुलिस्ट र लोकतान्त्रिक शक्तिबिचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापा

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरू बिचको भीषण सङ्घर्षका रूपमा रहेको बताएका छन्।

पार्टीद्वारा काठमाडौंमा आयोजित दुई दिने राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले बताएका हुन्। उपाध्यक्ष थापाले आउने चुनाव पनि यिनै दुई पक्षबीचको शक्ति सङ्घर्ष हुने निश्चित रहेको बताए।

‘फासीवादी तथा पपुलिस्ट शक्तिहरूले आफ्नो एकाधिकार कायम राख्न चाहने र बाह्य शक्तिहरूले आफ्नो स्वार्थपूर्ति गर्न कठपुतलीहरूलाई विजयी बनाउनैपर्ने हुँदा आगामी निर्वाचनहरू सामान्य हुनेवाला छैनन्’, उनले भने।

विज्ञापन

‘आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौँ लडाइँ जित्न सक्छौ’ चीनका महान रणनीतिज्ञ सुन जुको प्रसिद्ध कथनलाई आत्मसात गर्नुपर्ने धारणा राख्दै उपाध्यक्ष थापाले निर्वाचनमा विजय प्राप्त गर्न आन्तरिक एकतालाई सुदृढ गर्नुपर्नेमा जोड दिए।

गत वर्षको निर्वाचनमा भएका आन्तरिक कमजोरीको समेत चर्चा गर्दै उनले भने, ‘सङ्घर्षमा नीति, नेतृत्व र जनता नै विजयका मुख्य आधार हुन्। विगतको निर्वाचनमा हामीले हाम्रो प्रमुख प्रतिद्वन्द्वीलाई चिन्न सकेनौँ। हामीले हाम्रा कमजोरीहरू बुझ्न सकेनौँ। हामीले मुख्य प्रतिद्वन्द्वीका विरुद्ध परस्पर सहकार्य गर्न सकेनौँ। हामीले आन्तरिक एकता कायम गर्न सकेनौँ। हामीले जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्न सकेनौँ।’

उपाध्यक्ष थापाले विजय प्राप्तिका लागि जनतासँग प्रत्यक्ष मितेरी गाँस्नुका साथै प्रतिद्वन्दीविरुद्ध सहकार्य र नेतृत्वको वरीपरि गोलबन्द हुनुपर्नेमा जोड दिए।

केन्द्रीय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरेको र सही निष्कर्ष निकालेको उल्लेख गर्दै अब त्यसको दृढतापूर्वक कार्यान्वयन जरुरी रहेको उनले बताए। ‘अहिले भूराजनीतिक शक्तिहरूबीच सङ्घर्ष तीव्र बन्दै गएको छ। लोकतान्त्रिक शक्तिहरू बिच सहकार्य बढ्दै गएको छ। जनतामा व्याप्त एल्गोरिदमको भ्रम क्रमशः हट्दै गएको छ। सरकारप्रति जनतामा आक्रोश चुलिँदै गएको छ। पछिल्ला घटनाक्रमहरूले संसदीय, सडक तथा कानुनी सङ्घर्षमा विजयको सङ्केत दिइरहेका छन्’, उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।