स्वास्थ्य

आँखा शिविरबाट १४ सयले लिए सेवा, १५० जनामा मोतियाविन्दु भेटियो

सदरमुकाम गाईघाटस्थित त्रियुगा माध्यमिक विद्यालयमा आयोजित निःशुल्क आँखा जाँच शिविरबाट एक हजार ४ सय जना लाभान्वित भएका छन्।

आँखा शिविरमा विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका तथा सर्वसाधारणले आँखा परीक्षण र उपचारको अवसर पाएका हुन्।

त्रियुगा माविमा अध्ययनरत विद्यार्थी, तिनका अभिभावक तथा शिक्षक शिक्षिकालाई लक्षित गरी चौधरी आँखा अस्पताल लहानसँगको समन्वयमा त्रियुगा नगरपालिकाद्वारा आयोजित ३ दिने शिविर बुधबार उद्घाटन गरी शुक्रबारसम्म सञ्चालन भएको हो। नगरपालिका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र कार्कीका अनुसार शिविरमा सेवा पाउने लाभग्राहीमध्ये ८ सय ५ जना विद्यार्थी छन् भने बाँकी अभिभावक, शिक्षक शिक्षिका र सर्वसाधारण रहेका छन्।

विज्ञापन

शिविरमा आँखा जँचाएकामध्ये १ सय ५० जनामा मोतियाविन्दुको समस्या देखिएको छ। मोतियाविन्दु भएका बिरामीलाई आवश्यकताअनुसार चश्मा वितरण गरिएको छ भने चश्माले काम नदिनेलाई निःशुल्क शल्यक्रिया (अप्रेसन)को व्यवस्था मिलाइएको छ। जसअनुसार २१ जना विद्यार्थीलाई चश्मा वितरण गरिएको नगर स्वास्थ्य शाखा अधिकृत कार्कीले बताए।

बुधबार नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा उद्घाटन गरेको शिविरमा फेला परेका मोतियाविन्दुका बिरामीलाई चौधरी आँखा अस्पताल लहान सिराहा लगेर निःशुल्क अप्रेसन गर्ने काम भइरहेको छ। जसअनुसार बिहीबार र शुक्रबार गरी ६९ जनालाई अप्रेसन गर्न लहान पठाइसकिएको छ।

पहिलो र दोस्रो दिन फेला परेका ३५ जना मोतियाविन्दुका बिरामीको शुक्रबार नै अप्रेसन भइसकेको छ भने दोस्रो दिन अप्रेसन गर्न नभ्याएका र अन्तिम दिन फेला परेका मोतियाविन्दु पीडितमध्ये ३४ जनालाई शुक्रबार लहान पठाइएको छ। १ सय ५० मध्ये ५१ जनालाई भने आइतबारसम्ममा अप्रेसन गर्ने गरी शनिबार लहान पठाइने छ।

शिविरमा चौधरी आँखा अस्पताल लहानका चिकित्सक डा. बिनय कामतको नेतृत्वमा आँखा प्राविधिकहरू परिचालन गरिएको नगरपालिकाले जनाएको छ। ३ हजार बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा दसैँ, तिहार तथा छठका कारण बिदामा गएका कारण सबैको सहभागिता भने हुन नसकेको प्रधानाध्यापक सुभाष बिष्टले बताए।

उनका अनुसार शिशुदेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुने गरेको प्राविधिक धारसमेतको त्रियुगा माविमा कक्षा ११ र १२ मा विज्ञान, शिक्षा तथा व्यवस्थापन विषयमा पढाइ हुने गरेको छ। प्राविधिक धारतर्फ भने कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ विषयमा पठनपाठन भइरहेको छ।

सदरमुकाम बजार, भौतिक पूर्वाधारले भरिपूर्ण, शिक्षा मन्त्रालयले ५ वर्ष नमुना घोषित गरेर पर्याप्त पूर्वाधार संरचना र शैक्षिक उपकरणयुक्त भएकाले गुणस्तरीय शिक्षामा त्रियुगा मावि सामुदायिक विद्यालयतर्फ त्रियुगा नगरपालिकाभरिकै उत्कृष्ट शिक्षण संस्थाको परिचय बनाउन सफल भइसकेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।