असोज १५,काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर केपी आतङ्क रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाले आयोजना गरेको भर्चुअल भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले केपी आतङ्कलाई परास्त गर्न आम कार्यकर्ता र नागरिक सचेत हुनुपर्ने बताएका हुन् । लामो संघर्षपछि प्राप्त उपलब्धी गुम्ने खतरा बढेको भन्दै उनले प्रतिकृयावादी शक्तिहरुले जनतालाई भ्रम सिर्जना गरेकोले सचेत हुन अपिल समेत गरे ।
आफुले देशमा ठुलो कम्युनिष्ट शक्ति निर्माण गरि देशलाई सम्वृद्वी तर्फ लैजाने योजना अनुरुप नेकपा एमालेसँग पार्टी एकता गरेता पनि गलत प्रवृत्ति र केपी ओलीको गुटगत राजनितीले सपना चकनाचुर भएको प्रचण्डले उद्घोष गरे । अब फेरी जनताको घरदैलोमा माओवादी केन्द्र आफना एजेण्डा र उपलब्धी सहित जानु पर्ने बताए ।
सम्वोधनका क्रममा प्रचण्डले मन्त्रिपरिषद् विस्तार केही दिन लम्बिन सक्ने सङ्केत समेत गरेका छन् । नेकपा माओवादी ताराखोलाले आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो सङ्केत गरेका हुन् ।
शुक्रबार बिहान पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ्य हुँदा मन्त्रिपरिषद् विस्तार लम्बिन सक्ने बताए ।
“माधव जीसँग फोनमा कुराकानी भएको छ, उहाँ रुघाखोकीबाट ग्रसित हुनुहुन्छ,” प्रचण्डले भने, “डाक्टरले केही दिन अस्पतालमा बस्नुपर्छ भनेका कारण मन्त्रिपरिषद् विस्तार केही दिन ढिला हुनसक्छ । तर अन्य साथीहरु लागेको हुनाले आजभोलिमा पनि टुंगिन सक्छ ।”
सो अवसरमा प्रचण्डले माओवादी जनयुद्धबाट प्राप्त उपलब्धिलाई जनतामाझ पुर्याउनु पर्ने बताए । २०६४ सालपछि माओवादी बिग्रेको बताउँदै पहिलो कुरा नेतृत्व सच्चिँदै जाने हो भने फेरि पार्टीले नयाँ तरिकाले अगाडी बढ्ने बताए ।