असोज २१, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले आज पूर्णता पाउन सक्ने बताएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सम्भवत बिहीबार नयाँ मन्त्रीले सपथ ग्रहण गर्ने दाबी गरेका हुन्।
उनले माओवादीबाट बुधबारै सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाइसकेको जानकारी दिए। प्रचण्डले भने,‘मन्त्री छान्दा मधेसी, जनजाति, दलित, महिला सबै समूदायलाई समेट्ने कोसिस गरिएको छ।’
उनले विभेदमा पारिएका समुदायलाई अगाडि बढाउन आफू निरन्तर लागि परेको धारणा राखे।
सत्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र) ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय भागबण्डामै असन्तुष्टि जनाएको छ।
माओवादी स्थायी समितिको बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुग्याएको हो। माओवादीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ। यसअघि जनार्दन शर्मा–अर्थ र पम्फा भुसाल–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन्। शर्मा र भुसाल असार २९ मा नै मन्त्री भएका थिए।