भदौ १८, काठमाण्डौ । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले यही महिना राजीनामा दिनुहुने भएको छ । एक वर्षअघि सिन्जो आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको सुगाले यसै महिना राजीनामा दिने बताउनुभएको बीबीसीले जनाएको छ ।
सुगाले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्षका लागि पनि प्रतिस्पर्धा नगर्ने बताउनुभएको छ । एलडीपीमा अध्यक्षका लागि सेप्टेम्बर ३० मा चुनाव हुँदैछ ।
जापानमा यही नोभेम्बरमा संसदीय चुनाव हुँदैछ । जापानको संवैधानिक व्यवस्था अनुसार यही नोभेम्बर २८ वा त्यसभन्दा अघि चुनाव गर्नुपर्नेछ । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम नगरेको भन्दै जापानमा प्रधानमन्त्री सुगाको आलोचना भइरहेको छ ।
पार्टीको कार्यकारी समितिको बैठकमा सुगाले कोरोना भाइरस नियन्त्रणमा ध्यान केन्द्रित गर्न चाहेको र नेतृत्वमा प्रतिस्पर्धा नगर्ने बताउनुभएको एलडीपीका महासचिव तोसिहिरो निकाईलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।