तालिवानको कब्जामा जाँदै अफगानिस्तान

 कोरखबर   २९ सावन, २०७८



एजेन्सी, ३१ साउन । अफगानिस्तान तालिवानको कब्जामा जान लागेको छ । अहिलेकै गतिमा तालिवान अगाडि बढे यसै हप्ता अफगानिस्तान उनीहरुको कब्जामा जाने निश्चितप्रायः भएको हो ।

तालिवानले अफगानिस्तानको मुख्य शहरमध्ये दुईवटामा मात्र कब्जा जमाउन बाँकी रहेको छ । उनीहरु राजधानी काबुलतर्फ बढिरहेका छन् । काबुलबाट ४० किलोमिटर टाढाका शहरहरुमा उनीहरुको नियन्त्रण कायम भइसकेको छ ।

शनिबार अफगानिस्तानको चौंथो ठूलो शहर मजारे सरिफ तालिवानको कब्जामा गइसकेको छ । मजारे सरिफका अफगानी सैनिक सीमा क्षेत्रतर्फ भागेका छन् । विगतमा पनि सरकारी सैनिकहरु भागेर सीमा पारी गएका थिए ।

मजारे सरिफका दुई शक्तिशाली व्यक्तिहरु अब्दुल रसिद दोस्तुम र अता मोहम्मद नुरको अवस्था अज्ञात छ । उनीहरु निकटस्थले भने सुरक्षित रहेको बताएका छन् । दोस्तुम उज्वेकी मूलका हुन् भने नुर ताजिक मूलका हुन् । उनीहरु शक्तिशाली युद्ध सरदार मानिन्छन् । अफगानिस्तानको उज्वेकस्तान र ताजिकिस्तान नजिकको क्षेत्रमा उनीहरुको प्रभाव छ । काबुललाई चारैतिरबाट घेरिरहेका तालिवानले जलालावाद पनि नियन्त्रणमा लिएका छन् । अब उनीहरुले दुईवटा मात्र मुख्य शहर नियन्त्रणमा लिन बाँकी छ ।

अफगानिस्तानमा तालिवान हावी भएपछि अमेरिका र पश्चिमाहरुको प्रभाव गुम्दै गएको छ । अमेरिकाले सैनिक फिर्ता लरेलगत्तै तालिवानको शक्ति बढेको हो । तालिवानलाई पाकिस्तानको बलियो साथ रहेको बताइन्छ । रुस र चीनले पनि तालिवानलाई भित्र भित्र सघाइरहेको चर्चा छ । केही हप्ता अघि तालिवानी नेताहरु रुस र चीन पुगेर त्यहाँका अधिकारीहरुलाई भेटेका थिए ।

अमेरिकाको प्रभाव गुम्दै जाँदा अफगानिस्तानमा चीनको प्रभाव बढेको छ । कुनैबेला रुसको प्रभाव भएको अफगानिस्तानमा शितयुद्धपछि उसको प्रभाव गुम्यो । त्यहाँ अमेरिका पस्यो । तालिवानले अमेरिकाको सहयोग पाएका थिए । पछि तालिवानलाई पराजित गरी अमेरिकी सैनिक तैनाथ भए । तर, अमेरिका पनि अफगानिस्तान छाड्ने निर्णयमा पुग्यो । पाकिस्तानले कहिले सोभियत संघ त कहिले अमेरिकाको साथ पाएर अफगानिस्तानमा भूमिका देखाइरह्यो ।

अहिले चीनको साथ लिएर पाकिस्तानले तालिवानलाई सघाएर अफगानिस्तानमा प्रभाव बनाएको छ । योसँगै भारतको प्रभावमाथि चुनौती बढेको छ । अफगानिस्तानको पूर्वाधार विकासमा भारतको ठूलो लगानी छ । त्यसमाथि संकट पर्न सक्ने देखिदैछ ।

अफगानिस्तानमा विगतमा जस्तै पाकिस्तानको साथ पाएका तालिवानहरुले कठोर शासन चलाउने सम्भावना बढेर गएको छ । अफगानिस्तान फेरि तालिवानको क्रुर शासनमा पर्ने खतरा बढेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post