साउन २८, काठमाडौँ । माओवादी केन्द्रका सांसद मातृका यादवले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सांसद् पदबाट राजीनामा दिन आग्रह गरेका छन् । प्रतिनिधिसभामा बारम्बार परमादेश भनेर अपमान गरेको भनेर उनले राजीनामा गर्न ओलीलाई आग्रह गरेका हुन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद यादवले भने, 'संविधान लेख्ने, सही भन्ने र उत्सव मनाउनेले संविधानको आफूखुसी प्रयोग गर्ने काम रोक्दा परमादेशबाट आएको हो भन्ने ? परमादेश भन्ने पूर्वप्रधानमन्त्री ओलीलाई के आग्रह गर्छु भने यो 'हाउस' मा नआइकन राजीनामा गर्न आग्रह गर्छु । चुनाव लडे भइहाल्छ । ६ महिनामा सरकारले चुनाव गराउछ ।'
यादवले परमादेशबाट आएको संसद् भन्ने सांसदहरूलाई पनि राजीनामा गर्न र उपनिर्वाचनबाट जितेर आउन सुझाव दिए । जनताबाट निर्वाचित भएका आफूहरूलाई परमादेशबाट आएको भनेर जनमतको अपमान भएको उनले बताए । ज-जसलाई परमादेश भनेर लागेको छ राजीनामा दिए हुन्छ,' उनले थपे, 'जनादेशबाट निर्माण भएको प्रतिनिधिसभा हो । त्यसबाट यहाँ आएका मान्छे हौं, जे मन लाग्यो त्यही बोल्ने जुन सदनमा आएको छ त्यसकै अपमान गर्ने ?'
सांसदहरूले आफ्नो मर्यादा राख्नुपर्ने यादवको भनाइ छ । ओलीले आफू प्रधानमन्त्री बन्नका लागि विगतमा माओवादीसँग एकता गरेको र दुई तिहाइको बहुमतको सरकारलाई ढाल्न भूमिका खेलेको बताएका थिए ।