चैत ५,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीदिनमै नयाँ सरकार बन्ने बताएका छन् । रिफ्रेसमेन्टका लागी सिन्धुली पुगेका प्रचण्डले जे गरेर भए पनि केपी ओलीलाई हटाउन लागिएको र केहि दिनमै नयाँ सरकार बन्ने बताए ।
ओलीलाई सरकारबाट हट्न नदिन संसारभरका शक्ति लागेको तर तर पनि केहीदिनमा नै नयाँ सरकार बन्ने प्रचण्डको भनाई थियो ।
“जे गरेर भए पनि केपीलाई हटाउन लागिएको छ,” दाहालले भने, “एकातिर केपी अर्कोतिर हामी भएका छौँ । हाम्रो पछि जनता छन् केपीका पछाडि प्रतिक्रियावादी छन् । तत्काल जसरी पनि केपी हटाउने हो । हिजो केपीको कदमलाई असंवैधानिक भन्नेहरुबीच एकता गरेर केपी हटाउने हो । काठमाडौं पुग्नेबित्तिकै गर्ने काम त्यही हो । यो हुन नदिन ठूला शक्ति लागेका छन् । संसारभरका ठूला शक्ति लागेका छन् । मैले उनीहरुलाई भनेअनुसार गरिनँ । मैले संविधान जारी नगर भन्दा मानिनँ त्यही भएर उनीहरुले मलाई रुचाएका छैनन् ।”
दाहालले नेकपा एमालेमै रहेका मन्त्रीहरुप्रति आक्रोश व्यक्त गरेका छन् । सिध्दिइसकेका व्यक्तिलाई अघि सार्दा आफूले धोका पाएको उनको टिप्पणी थियो ।