२८ फागुन,बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार बुटवलमा अगुवा कार्यकर्ता सम्बोधन भेलामा फरक रुपमा प्रस्तुत हुनुभयो ।
सर्वोच्च अदालतले एमाले र माओवादी पूर्ववत् रुपमै रहेको आदेश दिए पछि विभाजित भएको नेकपा फेरि पहिल्यैको अवस्थामा पुग्यो । तर, माओवादी सांसदहरु रामबहादुर थापा बादल पक्षका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विचारलाई साथ दिने अडानका साथ एमालेमै रहे । यसै सन्दर्भमा नेकपा एमालेमा लागेका नेताहरुलाई फकाउन नलाग्ने अध्यक्ष प्रचण्डले बताउनुभएको हो ।
विगतमा बिग्रिएका, भत्किएकाहरुलाई फकाउँदा हुन्छ कि भन्नु आफ्नो गल्ती भएको उहाँले स्विकार गर्नुभयो । उहाँले कार्यक्रममा भन्नुभयो, ‘अरु त अरु, दुई जना मान्छे नभएकालाई स्थायी समिति बनाएको त अहिले मन्त्री । के गरेँ भनेर अहिले आफ्नै आत्मसमीक्षा गर्न थालेको छु । त्यस्तालाई भन्दा दृढतापूर्वक लड्ने र प्रचण्ड बनाउन भूमिका खेल्ने आफ्नै साथीहरुलाई भरोसा गरेको भए यो दिन देख्न पर्दैनथ्यो नि भन्ने महसुस भएको छ ।’
यसैगरी नेकपा एमाले माधव नेपाल समूहको कब्जामा आउने अध्यक्ष प्रचण्डको दाबी रहेको छ । नेपाल समूहले एमाले कब्जा गर्न नसके विद्रोह गर्नुपर्ने अवस्था आउने उहाँको भनाइ छ ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘या त माधवजीहरुले छिट्टै एमाले क्याप्चर गरेर केपी ओलीलाई हटाउने स्थिति हुन्छ। होइन भने विद्रोह गर्ने स्थिति बन्छ । उहाँहरु हामी मिलेर फेरि एउटा आन्दोलनकारी ठूलो कम्युनिस्ट शक्ति बनाउछौँ।’
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनको कदमविरुद्ध नेपाल र खनालसहित देश दौडहामा निस्केको र त्यस क्रममा आफूहरुबीच भावनात्मक संम्बन्ध बनेको पनि अध्यक्ष प्रचण्डले बताउनुभएको छ । साथै, अबको आफ्नो मुख्य जोड भनेको संगठन निर्माण रहेको पनि उहाँले बताउनुभयो ।