२७ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब केही वर्ष काठमाडौंबाहिर गएर जनताको माझमा बस्ने सोच बनाएको बताएका छन् ।
पेरिसडाँडामा बिहीबार आयोजित नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा उनले पार्टीले देशव्यापी अभियान चलाउन लागेको बताए । " फेरि जनतासँग जोडिने, देशव्यायापी आन्दोलनतिर जोडिने । मैले सोचिरहेको छु । म काठमाडौंभन्दा अभियानमा बढी बस्ने विचार छ । फेरि २र४ वर्ष जनताको बीचमा गएर," उनले भने, " किनभने देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले हाम्रो र राष्ट्र र आन्दोलनविरुद्ध धावा बोल्ने कोसिस गरेका छन् ।"
प्रचण्डले आफ्नै पुराना साथीहरु मिलेर जाँदा मात्रै त्यसलाई परास्त गर्न सकिने बताए । उमेर हदका विषयमा कुरा उठाउने गरेको भन्दै उनले एकपटक फेरि क्रान्ति गर्ने सोच बनाएको सुनाए ।
" म छोड्नेवालामा छैन । माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए । म एकचोटी फेरि क्रान्तिमा जानेवाला छु । एउटा ब्याटल जित्यौं। केही ब्याटल जित्न बाँकी छ," उनले भने ।
पूर्वमाओवादी जनमुक्तिलाई केही गरेनभन्दा आफ्नो अन्याय हुने उनले बताए ।