तीन महिनापछि बल्ल देखा परे चिनियाँ अर्बपति ज्याक मा !

 कोरखबर   ८ माघ, २०७७



माघ ८, बीबीसी । चीन सरकारले आफ्नो व्यापारिक साम्राज्यविरुद्ध कारबाही थालेपछि अलिबाबा ग्रूपका संस्थापक तथा अर्बपति व्यापारी ज्याक मा पहिलो पटक सार्वजनिक जीवनमा देखा परेका छन्।

केही महिना ओझेलमा परेकाले उनको स्थितिबारे निकै अडकालबाजी भएको थियो। उनी चीनका सर्वाधिक धनी व्यक्तिमध्ये एक हुन्।

एउटा सरकारी सञ्चारमाध्यमका अनुसार उनले बुधवार भिडिओमार्फत् ग्रामीण भेगमा कार्यरत १०० शिक्षकहरू छलफल गरेका थिए। उक्त समाचार प्रकाशित भएपछि हङ्‌कङ स्टक बजारमा अलिबाबाको शेअर मूल्य पाँच प्रतिशतले बढ्यो।

प्रान्तीय सरकारबाट सहयोग प्राप्त गरेको स्थानीय तियान्मु न्यूजका अनुसार ज्याक माले आफ्नो परोपकारी संस्थाले अग्रसरता आयोजना गरेको कार्यक्रममा ती शिक्षकहरूलाई सम्बोधन गरेका थिए।

प्रायः सान्या नगरमा आयोजना गरिने उक्त वार्षिक कार्यक्रम यसपालि कोभिड-१९ नियन्त्रणका लागि लगाइएको नियमका कारण अनलाइन भएको थियो। "महामारीका कारण हामी सान्यामा भेट्न सक्दैनौँ," उनले आफ्नो सम्बोधनमा भने। "महामारी सकिएपछि हामीले सबै जना सान्यामा भेला हुने समय जुटाउनुपर्छ। अनि हामी फेरि भेटौँला!"

उक्त भिडियोमा उनले नीलो पुलओभर लगाएको देखिन्छ। उनले एउटा कोठाभित्र बसेर सोझै क्यामरामा हेरेर बोलेका थिए। तर उनी कहाँ थिए भन्ने कुरा न त उक्त भिडिओबाट न त तियान्मुको समाचारबाट स्पष्ट हुन्छ।

ज्याक मा किन परे सरकारको तारोमा?

गत महिला चीनको केन्द्रीय ब्याङ्कले एन्ट ग्रूपका कार्यकारीहरूलाई नियन्त्रणमा लियो र उक्त कम्पनी सञ्चालन गर्न ठूलो परिवर्तन गर्ने आदेश दियो। ज्याक मा उक्त व्यापारिक समूहका संस्थापक र एक महत्त्वपूर्ण साझेदार हुन्। उक्त कम्पनी चीनको सबैभन्दा ठूलो भुक्तानी प्रदायक हो।

कम्पनीमा ठूलो परिवर्तनको आदेश दिनुअघि नै नियामक निकायले एन्ट ग्रूपलाई हङ्‌कङ र शाङ्घाईको शेअर बजारको सूचीबाट निकालिसकेका थिए।

उक्त कम्पनीको शेअर बजारमा झन्डै ३७ अर्ब अमेरिकी डलर मूल्य अनुमान गरिएको थियो जुन गत वर्षको सबैभन्दाको ठूलो हुने अपेक्षा थियो। चीन सरकारको बजार नियमन गर्ने निकायले अलिबाबाको गतिविधि एकाधिकारवादी भएको भन्दै छानबिन गर्ने घोषणा गरेको थियो।

यही महिनाको आरम्भमा 'अफ्रिकाज बिज्नस हिरोज' नामक टेलिभिजन कार्यक्रममा अनुपस्थित भएपछि उनको अवस्थाबारे शङ्का उत्पन्न भएको थियो। उनी कार्यक्रममा एक निर्णायक थिए।

अलिबाबाले समय जुधेकाले ज्याक मा त्यसमा सहभागी हुन नसकेको बताए पनि केही सञ्चारमाध्यमका विवरणअनुसार गत अक्टोबर महिना शाङ्घाईमा आयोजित एउटा कार्यक्रमपछि उनी सार्वजनिक रूपमा देखिएका थिएनन्। उक्त कार्यक्रममा उनले ब्याङ्‌किङ प्रणालीको आलोचना गरेको बताइएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post