देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म बझाङ, मुगु, सिराहा, धनुषा र सप्तरीमा भएका ६ वटा दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
सबैभन्दा ठुलो मानवीय क्षति बझाङको बुङ्गल नगरपालिका-१० टुमेडास्थित सडकमा भएको छ। टुमेडा गाउँबाट हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ह ७९९८ नम्बरको अटो सोमबार बिहान सडकबाट करिब ९०० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा अटोमा सवार सोही नगरपालिका-१० बस्ने अन्दाजी ३५ वर्षीया राजमति महरा, अन्दाजी १५ वर्षीया तारा महरा, अन्दाजी ५ वर्षीया डल्ली महरा र अन्दाजी ४ वर्षीय रियास महरा रहेका छन्। प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ।
यसैगरी, मुगुको छायाँनाथ रारा नगरपालिका-७ टोप्लास्थित सडकमा आइतबार दिउँसो बा.१७ च १८६४ नम्बरको गाडी करिब ६०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ।
सुर्खेतबाट रारातर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा काठमाडौं कलंकी बस्ने ५० वर्षीय बिजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्ण कुमार थापाको जिल्ला अस्पताल मुगुमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका गाडी चालक र अन्य एक जनाको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सिराहाको मिर्चैया नगरपालिका-६ बतहा पुलस्थित सडकमा आइतबार राति ज.११ प ९००२ र बिआर ३२ एआर ५४७३ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही नगरपालिका-८ भगवतपुर बस्ने २३ वर्षीय सुमित कुमार यादवको मृत्यु भएको छ। ज.११ प ९००२ नम्बरको मोटरसाइकलमा सवार उनको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो।
उक्त दुर्घटनामा घाइते सोही मोटरसाइकलमा सवार अन्य एक जनाको नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर र बिआर ३२ एआर ५४७३ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको राम जानकी अस्पताल प्रालि जनकपुरमा उपचार भइरहेको छ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाईतस्थित सडकमा आइतबार राति प्र.०२-००४ प २०४६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
श्रीरीपुरबाट कठाईततर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते मिथिला बिहारी नगरपालिका-९ कटरेज टोल बस्ने २६ वर्षीय प्रशान्त कुमार यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।
सिराहाकै धनगढीमाई नगरपालिका-१ बाखरस्थित सडकमा बाखरबाट करचिबारीतर्फ जाँदै गरेको स.५ प ४२०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका २५ वर्षीय प्रेम कुमार महतोको आइतबार राति मृत्यु भएको छ। उनको श्रमजीवी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो भने फरार चालकको खोजी भइरहेको छ।
सप्तरीको बलान बिहुल गाउँपालिका-६ शेहरा चोकस्थित सडकमा गए राति म.प्र.०१-००५ प ५६७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
चन्हीबाट बोदेबर्साइनतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा सोही गाउँपालिका-२ चन्ही बस्ने २० वर्षीय राजिव पासवानको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।