कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीमा तीनै तहका सरकार जुटेका छन्। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि सुरु ८ गतेबाट हुने छ।
मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारी तीव्र पारिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन चन्दले जानकारी दिए। प्रतियोगितामा ३२ वटा खेल खेलाउने तय भएको छ। जसमध्ये २३ वटा खेल प्रदेश राजधानी जिल्ला सुर्खेतमा हुने छन्।
केही खेल कर्णालीकै दैलेख, कालिकोट, सल्यान र पश्चिम रुकुममा खेलाइने छ। कर्णालीमा पर्याप्त पूर्वाधार नभएका कारण केही खेल छिमेकी प्रदेश लुम्बिनीमा पनि खेलाइने भएको छ।

प्रतियोगिताको औपचारिक उद्घाटनअघि मंसिर ८ गतेबाट पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलमा प्रतिस्पर्धा सुरु हुनेछ।
सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी, साइक्लिङ, कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु, बक्सिङ ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास, बास्केटबल, कबड्डी, आर्चरी, भारोत्तोलन, इस्पोटर्स सेपाक ताक्रोसहित २३ खेल खेलाइने छ। कर्णालीकै दैलेखमा आइटिएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेलहरू खेलाउने तयारी छ।
कर्णालीमा आवश्यक पूर्वाधार कमीले केही खेल छिमेकी लुम्बिनी प्रदेशमासमेत सञ्चालन गरिनेछ। पौडी र सुटिङका खेलहरू नेपालगन्ज (बाँके) तथा टेनिस र खो–खोका खेल बर्दियामा खेलाइने सदस्य–सचिव चन्दले बताए।
उनले भने, ‘चाडपर्वका कारण प्रचारप्रसार नभएजस्तो देखिए पनि तिहारलगत्तै बाँकी तयारी र गतिविधि तीव्र रूपमा अघि बढाउँछौं।’
१० औं राष्ट्रिय खेलकुदका लागि यातायात, आवास लगायत व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिएको छ। आतिथ्यता वीरेन्द्रनगर नगरपालिकाले लिएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको खेलकुदको महाकुम्भ सफल बनाउन तीनै तहका सरकारबिच समन्वय भइरहेको बताएका छन्।
विभागीय मन्त्री पोखरेलले आवासलगायत व्यवस्थापन पक्षमा सहजताका लागि सोहीअनुसार खेलहरू फरकफरक मितिमा राखिएको बताए। ‘राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन मंसिर १६ मा राखिए पनि खेलहरू आठ गतेबाट नै सुरु हुन्छन्,’ उनले भने, ‘यसो गर्दा आवास लगायत व्यवस्थापनमा सहज हुने छ।’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।