मलेसिया जाने श्रमिकलाई संगठित रूपमा ठगी गरी १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ।
बुधबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय ६० वर्षीय शेरबहादुर कुँवर र ६१ वर्षीय रामेश्वर राय यादव छन्।

अछामको चौरपाटी गाउँपालिका-४ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-५ बस्ने कुँवर र सर्लाहीको चक्रघट्टा गाउँपालिका बेल्हीका यादवसँगै मन्त्रालयका तत्कालीन सचिव ६४ वर्षीय विनोद केसी पनि पक्राउ परेका छन्। केसी ललितपुर महानगरपालिका-२३ का बासिन्दा हुन्।
त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सह-सचिव) द्वय ५१ वर्षीय उमेश ढुङ्गाना र ५३ वर्षीय राजिव पोखरेललाई पनि प्रहरीले पक्राउ गरेको छ।
ढुङ्गाना काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ र पोखरेल ललितपुर महानगरपालिका-१५ का बासिन्दा हुन्।
पक्राउ पर्ने अर्की व्यक्ति सोही महाशाखाकी तत्कालीन कानुन अधिकृत (उप-सचिव) काठमाडौं महानगरपालिका-९ भत्केकोपुलकी ४९ वर्षीया निर्मला गुरुङ रहेकी छन्।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी कैलाश खड्कासमेत भएको ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो।
मलेसिया र नेपाल सरकारबीच भएको सम्झौता (एमओयू) विपरीत गैरकानुनी रूपमा संकलित ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा (रू. १,६९,०२,२४,०२६.७६) मलेसिया पठाउन संलग्न रहेको अभियोग उनीहरूमाथि छ।
पदीय जिम्मेवारी तथा अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्र र मुद्रा संचितीकरणमा नोक्सानी पुर्याएको सीआईबीले जनाएको छ।
संगठित समूहको लाभका लागि श्रमिकमाथि भइरहेको ठगीमा मौन रही कानुनी उपचार नगरी गैरकानुनी रूपमा रकम मलेसिया पठाउने निर्णय गर्ने कार्यमा उनीहरू संलग्न रहेको आरोप छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।