अर्थतन्त्र

हिउँदमा ३५० मेगावाट बिजुली दिन भारत तयार

भारत हिउँदयामको सुख्खा समयमा नेपाललाई ३५० मेगावाट बिजुली उपलब्ध गराउन तयार भएको छ।

भारतीय राजदूत सुधाकर दलेलाले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई मन्त्रालयमा भेटेर भारतको उक्त निर्णयबारे जानकारी गराएका हुन्।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार भारतीय बजारबाट ०८३ मङ्सिर १ गतेदेखि २०८४ साउन १५ गतेसम्म विद्युत् आयात गर्ने अनुमति प्राप्त भएको छ।

विज्ञापन

सुख्खायामको पिक आवरमा ३५० मेगावाट आयात अनुमतिसँगै नेपालले थप ५६ मेगावाट बिजुली भारत निर्यात गर्ने स्वीकृतिसमेत पाएको उनले बताए।

मन्त्री, मन्त्रालय र प्राधिकरणको चरणबद्ध संवादपछि भारतले बिजुली दिने सहमति जनाएको उल्लेख गर्दै कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘यसले हिउँदमा माग धान्न मद्दत गर्छ। आपूर्ति व्यवस्थापन सहज हुनेछ।’

गत भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जलविद्युत् पूर्वाधार र संरचनामा क्षति पुऱ्याउँदा ४३१ मेगावाट बिजुली प्रणालीबाहिर छ। त्यसपछिको कालीगण्डकी र बुढीगण्डकी बाढीले समेत विद्युत् पूर्वाधारमा क्षति पुऱ्याएको थियो।

मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनका अनुसार भोटेकोशी बाढीको क्षतिलाई मध्यनजर गर्दै भारतले नेपालको हिउँदे विद्युत् मागलाई गम्भीरतापूर्वक लिएर आवश्यक बिजुली दिने निर्णय गरेको राजदूत दलेलाले जानकारी गराएका थिए।

विपद्पछि हिउँदे माग धान्न मन्त्री श्रेष्ठले मन्त्रालय मातहतका निकाय, प्राधिकरण र आफ्नो सचिवालयलाई परिचालन गर्दै प्राधिकरणका सञ्चालक समिति सदस्य र सचिवालय सदस्यलाई दुईपटक दिल्ली पठाएका थिए। सोही संवादमा विद्युत् आपूर्तिको मोडालिटी टुङ्गिएको थियो।

हालै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँग मन्त्री श्रेष्ठले र त्यसअघि भारतीय ऊर्जा सचिवसँग मन्त्रालयका अधिकारीले सहज विद्युत् आपूर्तिबारे छलफल गरेका थिए। विदेश सचिव मिश्री भारत फर्किएलगत्तै ३५० मेगावाट बिजुली दिने निर्णय भएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा मन्त्री श्रेष्ठसमेत नयाँदिल्ली जाने कार्यक्रम छ। भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपालको माग धान्ने गरी विद्युत् उपलब्ध गराउने अनुमति दिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।