सुदूरपश्चिम प्रदेशमा संसदीय समितिले अध्ययन गरेर तयार पारेको प्रतिवेदनका आधारमा मंसिरको पहिलो साता पूरक बजेट ल्याउने भनिएको थियो।
पूरक बजेट ल्याइसक्नुपर्ने समय घर्किसक्दा पनि प्रतिपक्ष दल नेपाली कांग्रेसको असहमतिका कारण संसदीय समिति नै गठन हुन सकेको छैन। समिति गठन नहुँदा पूरक बजेट ल्याउने निर्णय अलपत्र परेको छ।
सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री प्रकाश रावलले संसदीय समिति गठन नहुँदा पूरक बजेट आउन नसकेको बताए। मंसिर पहिलो साताभित्र पूरक बजेट ल्याउने भनिएकोमा संसदीय समिति नै गठन हुन नसकेपछि पूरक बजेट ल्याउने निर्णय कार्यान्वयन हुने सम्भावना न्यून देखिएको उनको भनाइ छ।

बजेट कार्यान्वयनमा गइसक्यो
बजेटमा देखिएका त्रुटि सच्याउन संसदीय समितिको अध्ययन प्रतिवेदनका आधारमा ल्याउने भनिएको पूरक बजेट निर्धारित समयभित्र नआएपछि प्रदेश सरकारले विवादमा परेको बजेट नै कार्यान्वयनमा लगेको छ। बजेट कार्यान्वयनमा गइसकेको प्रवक्ता रावलले बताए। पूरक बजेट ल्याउने निर्णय कार्यान्वयनमा नआएपछि सत्तापक्षकै प्रदेशसभा सदस्यले विरोध जनाएका छन्।
नेकपाका केही प्रदेशसभा सदस्यको टोलीले सभामुख भीमबहादुर भण्डारीलाई भेटेर संसदीय समिति गठन गरी अध्ययनपश्चात् पूरक बजेट ल्याउने निर्णय कार्यान्वयन गर्न मागसमेत गरेका छन्। सभामुखलाई भेटेरै पूरक बजेट ल्याउने निर्णय कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको नेकपाका एक प्रदेशसभा सदस्यले बताए। विपक्षी दल नेपाली कांग्रेस संसदीय समितिमा बस्न मञ्जुर नभएका कारण छानबिन समिति गठन हुन नसेकको बुझिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले झन्डै तीन महिना ढिलो गरी ल्याएको बजेटको पनि चौतर्फी विरोध भएपछि पूरक बजेट ल्याउने शर्तमा गत असोज २७ गते बजेट पारित भएको थियो। पूरक बजेट ल्याउन संसदीय समिति गठन गरेर कात्तिक २० सम्म प्रतिवेदन बुझाउने भनी सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेशसभा बैठकमा निर्णय सुनाएका थिए। बजेट अध्ययन गरी प्रतिवेदनका आधारमा पूरक बजेट ल्याउने समय घर्किंदा बजेटको किचलो कायमै छ।
प्रदेशसभामा रहेका दलहरूको प्रतिनिधित्व रहने गरी बजेट अध्ययनका लागि सात सदस्यीय अध्ययन समिति गठन गर्ने भनिएको थियो। झन्डै तीन महिनाको बजेट शून्यता रहेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले गत असोज २५ गते प्रदेशसभा बैठकमा ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजारको बजेट प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेको बजेट बिचौलियाको प्रभावमा आएको भन्दै प्रतिपक्षको मात्र नभई सत्तापक्षकै सांसदबाट समेत चर्को विरोध भयो।
असोज २७ गते नेकपा एमाले र नेकपाबिच कर्मचारीले तलब पनि खान नपाएको, अस्पतालमा औषधी नभएको विषम परिस्थिति रहेको भन्दै पूरक बजेट ल्याउने गरी बजेट पारित गर्ने सहमति भएको थियो। बजेट पारित हुनुअघि असोज २७ गते सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठकमा बजेटका विषयमा अध्ययन गरी कात्तिक २० भित्र प्रतिवेदन पेस गर्ने गरी सात सदस्यीय दलीय संसदीय समिति गठन गरिने र उक्त समितिको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याइने निर्णय सुनाएका थिए।
संसदीय समितिमा बस्न कांग्रेस सहमत नभएकाले समिति गठन हुन नसक्दा प्रदेशसभामा सभामुखले सुनाएको निर्णय के हुने भन्ने प्रश्न उब्जेको छ। कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको गत कात्तिक ९ मा बसेको बैठकले सरकारले बजेटमा त्रुटि भएको स्विकारिसकेकाले मुख्यमन्त्री खगराज भट्टसहित सबै मन्त्रीले राजीनामा दिनुपर्ने निर्णय गरेको थियो। कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमलबहादुर शाहले सत्तापक्षले आफ्नै बहुमत राखेर बजेटलाई चोख्याउने उद्देश्यले संसदीय समिति गठन हुने समितिमा बस्नुको औचित्य नरहेको बताएका छन्।
कमिसनका आधारमा बजेट विनियोजन भएको भनेर सत्तापक्षकै सांसदहरूले चर्को असन्तुष्टि जनाएका बेला स्वयं प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभा बैठकमा आफूले चाहेजस्तो बजेट बन्न नसकेको स्विकारेका थिए। बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा बजेटमा कमजोरी रहेको स्विकार्दै त्यसको दोष आफ्नो मात्र नभएको बताएका थिए। ‘आज चक्र मल्ल र खगराज भट्टको निधारमा काख्राको बिउ देखिएकै आधारमा सबै काख्रा ती दुईले खाएका हुन् कि भन्ने पर्न सक्छु’, उनले भनेका थिए, ‘बिउ अर्काको गालामा टाँस्दैमा त्यो काख्रा त्यहीं टाँसिएको मान्छेले खाएको छ भन्ने छैन।’
बजेट पारित भए पनि बजेट विवाद साम्य हुन सकेको छैन्। बजेट पारित भएपछि असन्तुष्टि व्यक्त गर्दै नेकपा एमालेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाले सासंद पदबाट राजीनामा दिएका थिए। उनको राजीनामासमेत स्वीकृत भइसकेको छ।
यसअघि गत असार १ गते तत्कालीन आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रदेशसभामा प्रस्तुत गरेको बजेट विवादले तत्कालीन सरकार ढलेर गत साउन २९ गते नेकपा र एमालेको समीकरणबाट नयाँ सरकार बनेको हो। नयाँ सरकारले झन्डै तीन महिना ढिलो गरी ल्याएको बजेट पनि विवादरहित बन्न सकेन।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।