यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढेको छ। जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको हो।
प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो सात दिनको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु)बाट एक हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक प्रवेश गरेका छन्। प्रवेश गर्ने पर्यटकको तुलनामा बाहिरिनेको सङ्ख्या ६५१ ले बढी छ। बाहिरिने पर्यटकको सङ्ख्या प्रवेश गर्नेको तुलनामा दुई गुणाभन्दा बढी देखिएको तथ्याङ्कले शरद् पर्यटन ‘सिजन’ क्रमशः सकिँदै गएको सङ्केत गरेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार उपलब्ध साप्ताहिक विवरणमा बाहिरिने विदेशी पर्यटकको सङ्ख्या ८७७ र स्वदेशी पर्यटकको सङ्ख्या ३०३ रहेको छ। सोही अवधिमा खुम्बु क्षेत्रमा ३७४ विदेशी र १५५ जना स्वदेशी पर्यटक भित्रिएका छन्।

विवरणअनुसार खुम्बु क्षेत्रबाट बाहिरिने विदेशी पर्यटकमध्ये ३२७ महिला र ५५० पुरुष छन्। स्वदेशी पर्यटकमध्ये ४६ महिला र २५७ पुरुष बाहिरिएका छन्। यसैगरी, खुम्बु क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकमध्ये १०२ महिला र २७२ पुरुष छन् भने स्वदेशी पर्यटकमध्ये ५४ महिला र १०१ पुरुष छन्। खुम्बुमा चिसो बढेसँगै पर्यटकहरु फर्किने क्रम बढेको स्थानीय दाली शेर्पाले बताए। उनले भने, ‘नाम्चे क्षेत्रमा नै रातको समयमा तापक्रम माइनसमा जान थालेको छ, रात र बिहानको समयमा तापक्रम माइनसमा गएपछि पानी जम्न सुरु भएको छ, त्यसैले चिसो बढेको महसुस भएको हो।’
सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय सिजनमध्ये शरद् ऋतुमा असोज र कात्तिक महिनामा पर्यटकको चाप बढी हुने गर्दछ। मनसुन सकिएपछि मौसम खुल्ने, हिमाल स्पष्ट देखिने तथा पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले यस क्षेत्रमा पर्यटकको आगमन बढ्ने गरेको पाइन्छ। तर, कात्तिकको उत्तरार्धसँगै तापक्रम घट्दै जाने, राति अत्यधिक चिसो हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढ्ने भएकाले पर्यटक फर्कने क्रम तीव्र हुने गरेको छ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाले उच्च हिमाली क्षेत्रमा चिसो बढेसँगै पर्यटकको बसाइँ अवधि र गतिविधिमा प्रभाव पर्ने बताए। सिजनको अन्तिमतिर मौसमको अवस्था, तापक्रम, हिमपातको सम्भावना र पदयात्राको अवस्थालाई ध्यानमा राखेर पर्यटकले यात्रा व्यवस्थापन गर्ने भएकाले फर्कने क्रम बढ्ने उनको भनाइ छ।
खुम्बु क्षेत्रको पर्यटन गतिविधि मौसमसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै शेर्पाले पर्यटकको आवागमनमा मौसमी परिवर्तनको प्रभाव पर्ने बताए। शरद् सिजनमा पर्यटकको चाप बढी हुने भए पनि जाडो सुरु भएपछि उच्च हिमाली क्षेत्रको यात्रा कठिन हुँदै जाने र पर्यटकको सङ्ख्या घट्ने पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले बताए।
लुक्लास्थित तारा एयरका स्टेसन इन्चार्ज अमृत मगरका अनुसार पर्यटकको आवागमनमा मौसमी अवस्था र पर्यटन सिजनको प्रभाव देखिने गरेको छ। पर्यटकको चाप बढी हुँदा हवाई आवागमन पनि बढ्ने तथा सिजन कमजोर हुँदै जाँदा पर्यटक बाहिरिने क्रम बढ्ने उनको भनाइ छ। ‘मौसमको अवस्था हवाई उडानका लागि महत्वपूर्ण हुने भएकाले लुक्ला विमानस्थलबाट हुने उडान गतिविधि पनि मौसमअनुसार प्रभावित हुन्छ,’ इन्चार्ज मगरले भने।
चिसो बढ्न थालेपछि पर्यटकको आवागमन र स्थानीय पर्यटन व्यवसाय गतिविधिमा परिवर्तन देखिन थालेको लुक्लाका स्थानीय तोयाकुमार श्रेष्ठले बताए। पर्यटकको चाप रहने मुख्य सिजन सकिन लाग्दा होटल, पसल, पदयात्रा सेवा तथा अन्य पर्यटन व्यवसायमा गतिविधि क्रमशः कम हुँदै जाने स्थानीयको अनुभव छ। उच्च क्षेत्रमा चिसो बढ्ने क्रमसँगै पर्यटकले यात्रा छोट्याउने वा तल्लो क्षेत्रतर्फ फर्कने प्रवृत्ति देखिने उनको भनाइ छ।
प्रहरीको पछिल्लो साप्ताहिक विवरणमा उक्त अवधिमा ६९ वटा प्लेन फ्लाइट र २८ वटा हेलिकप्टर फ्लाइट भएको पनि उल्लेख गरिएको छ। खुम्बु क्षेत्रमा पर्यटकको आवागमनका लागि हवाई सेवा महत्वपूर्ण माध्यम रहेकाले मौसम, पर्यटकको चाप र सिजनको अवस्थाले उडान गतिविधिमा प्रभाव पार्ने गरेको छ।
सगरमाथा क्षेत्र नेपालको प्रमुख हिमाली पर्यटन गन्तव्य हो। सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा आधार शिविर, नाम्चे बजार, खुम्जुङ, गोक्यो, थामे, लुक्लालगायत क्षेत्र पदयात्रा, हिमाल अवलोकन तथा पर्वतारोहणका लागि अन्तरराष्ट्रिय पर्यटकको आकर्षणका केन्द्र हुन्। वसन्त र शरद् गरी दुई मुख्य पर्यटन सिजनमा यहाँ पर्यटकको आवागमन बढी हुने पर्यटनविद् आङछिरिङ शेर्पा बताउँछन्।
वसन्त सिजन फागुनदेखि जेठसम्म तथा शरद् सिजन भदौको अन्त्यदेखि मङ्सिरसम्म मुख्य पर्यटन अवधि मानिन्छ। शरद् सिजनमा असोज र कात्तिकमा पर्यटकको चाप बढी रहने भए पनि सिजन सकिँदै जाँदा उच्च हिमाली क्षेत्रको तापक्रम घट्ने र मौसममा परिवर्तन आउने क्रमले पर्यटन गतिविधि प्रभावित हुने खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारी बताउँछन्।
प्रहरीको पछिल्लो साप्ताहिक तथ्याङ्कमा खुम्बु क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या प्रवेश गर्नेभन्दा उल्लेखनीय रूपमा बढी देखिनुले शरद् सिजनको अन्तिम चरणमा पर्यटक फर्कने क्रम तीव्र भएको सङ्केत गरेको छ।
उच्च हिमाली क्षेत्रमा चिसो बढ्दै जाँदा आगामी दिनमा मौसम प्रतिकूल हुन सक्ने अवस्थाले पर्यटकको आवागमनमा मौसमी परिवर्तनको प्रभाव देखिन सक्ने पर्यटन व्यवसायी तेम्बाछिरि शेर्पाको अनुमान छ। रासस


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।