समाज

वैदेशिक हुलाकबाट सामान पठाउँदा सेवाग्राहीसँग घुस, भन्सारका दुई कर्मचारीविरुद्ध मुद्दा

सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक शाखाका दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस मागिएको सूचनाका आधारमा आयोगको टोलीले दुवै कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

विज्ञापन

आयोगका अनुसार अनुसन्धानका क्रममा न्यौपाने र पुडासैनीले सेवाग्राहीको सामान वैदेशिक हुलाक शाखामार्फत विदेश पठाउने क्रममा विभिन्न बहाना बनाएर बार्गेनिङ गर्दै घुस मागेको पुष्टि भएको छ। उनीहरूले आपसी मिलेमतो र पूर्वयोजनाअनुसार ९ हजार ५०० रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

पद तथा ओहदाको दुरुपयोग गरी बदनियतपूर्वक घुस लिएको पुष्टि भएपछि दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार कसुर कायम गरिएको आयोगले जनाएको छ।

आयोगले दुवै प्रतिवादीविरुद्ध ९ हजार ५०० रुपैयाँ बिगो कायम गरी ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र बिगोबराबर जरिवाना सजायको मागदाबी गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले दुवै कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।